अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपालगन्ज भन्सार कार्यालयले विद्यार्थीहरुलाई भन्सार शिक्षा दिएको जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलका अनुसार, महेन्द्र बहुमुखी क्याम्पसमा बिबिएस अध्ययनरत् विद्यार्थीहरुलाई भन्सार राजश्व, राज्यको आम्दानी लगायतका विषयमा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
प्रमुख भन्सार अधिकृत पौडेलले देश निर्माणको जिम्मेवारी हरेक नागरिकको भएको उल्लेख गर्दै सरकारी तथा गैरसरकारी क्षेत्र, शिक्षक, विद्यार्थी, राजनीतिक दल, कानुन व्यवसायी लगायत सबैले “यो हाम्रो देश हो, हामीले नै बनाउनु पर्छ” भन्ने भावना लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।
आफूले जिम्मेवारी सम्हालेको झण्डै १६ महिनाको अवधिमा राजश्व संकलनमा उल्लेख्य सुधार आएको र सुरक्षा निकायसँगको सहकार्यका कारण तस्करी नियन्त्रणमा समेत सफलता मिल्दै गएको उनको भनाइ छ ।
“सशस्त्र प्रहरी र जनपद प्रहरीसँग समन्वय गरेर गस्ती परिचालन भइरहेको छ । भारतको एसएसबीले पनि कडाइ बढाएकाले तस्करी नियन्त्रण गर्न सहज भएको छ,” पौडेलले भने ।
अन्तर्राष्ट्रिय भन्सार दिवसकै अवसरमा भन्सार सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ । जमुनाहा नाकामा अटो चालकहरूसँग यात्रुहरूलाई दुःख नदिन, चोरी–छल्ने उद्देश्यले गाडी नचलाउन तथा भन्सार नतिरी मिलाइदिने भ्रामक आश्वासन नदिन आग्रह गरिएको छ ।
