सान र शौकतको ब्रिटिस र सिंंंगापुरे लाहुरे रिटायर्डपछि राम्रो कमाउन जुनसुकै क्षेत्रमा लगानी गर्न सक्थे । नाफा भन्दा सेवा भावले भूपू सैनिकले बाँकेको कोहलपुरमा गोरखा युनाइटेड पब्लिक स्कुल खोले । विश्वभरी गोर्खालीको सान भए झैं यो स्कुलले जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म नै ख्याती कमाउन सफल भएको छ । २५ वर्षे यात्रामा विद्यालयले गरेका उदाहरणीय अभ्यास र पाएको सफलताबारे संस्थापक अध्यक्ष केशरबहादुर आले मगरसँग गरिएको संवाद
स्कुलको २५ वर्षे यात्रालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
—गुणस्तरीय र ब्यवहारिक शिक्षा प्रदान गर्ने मूल उद्देश्यले ३४ जना सेवा निवृत्त ब्रिटिश गोर्खा सैनिक (जसमा ४ जना भूपू सिङ्कापुर पुलिस) सहित अन्य थप परिवार सदस्य गरी जम्मा ४५ जना सन्चालकको सामूहिक प्रयासबाट बालबालिकाको लागि उज्यालो भविष्य नै शिक्षा पहिलो आवश्यकता भएको महसुस गरी हामीले गोरखा युनाइटेड पब्लिक स्कुल खोलेका थियौं । २०५७ सालमा १६५ जना विद्यार्थीबाट नर्सरी देखि ५ कक्षासम्म पठनपाठनको सुरुवात गरेका थियौं । विद्यालय सञ्चालनको दोस्रो वर्षमा निम्न माध्यमिक तह, तेस्रो वर्षमा माध्यमिक तह, २०६५ सालदेखि +२ तहमा विज्ञान तथा व्यवस्थापन संकाय र २०७४ सालदेखि कृषि स्नातक तह द्य।क्अ।ब्न पठनपाठन हुँदै आईरहेको छ । स्थापना कालदेखि अहिलेसम्म विद्यालयले हरेक वर्ष कुनै न कुनै उपलब्धी भईरहे । बितेका २५ वर्षमा विद्यालयले अनगिन्ती सफलता हासिल गरेको छ ।
विदेशमा दीर्घसेवा गरी अनुभव प्राप्त गर्नु भएका दक्ष व्यक्तिहरुले स्वेदशमा समेत देश विकासका शैक्षिक प्रयासहरुमा इँट्टा थप्ने कार्य जुन गौरवपूर्ण छ । हाम्रा लागि शिक्षा यात्रा चुनौतीपूर्ण थियो । लगनशील भएर टिम स्प्रिट र परिपक्क प्लानिङ अनुसार गर्न सके कुनैपनि काम असफल हुँदैन भन्ने हामीले सिद्ध गरेर देखायौं । गुणस्तरीय शिक्षा प्रदान गर्ने पश्चिम नेपालको एक समृद्ध र प्रेरणादायी शैक्षिक हब बनेकोमा हामी सबैका लागि गर्वको विषय हो । २५औं वर्ष पूरा हुँदा लक्ष्य भन्दा पनि धेरै सफलता पाएका छौं जस्तो हामीलाई लागेको छ ।
भूपु सैनिकसँग अनुभव पनि थिएन । कसरी स्कुल नै खोल्ने सोेच आयो त ?
– कुनै पनि काम सफल हुनको लागि रणनीतिक प्लान राम्रो हुनुपर्छ । त्यो भित्र विज्ञहरुको आवश्यक सहयोग लिने र व्यवस्थित रुपमा कसरी सन्चालन गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण पाटो हो । त्यसमा हामी ढुक्क थियौं कि ब्रिटिस आर्मीको अनुभवको आधारमा पनि प्लानिङ, प्रिपेरेशन र इम्प्लीमेन्टेसनमा हामी सक्छौं तर शिक्षा सम्बन्धी टेक्निकल कुराहरु आयो भने हामी बिज्ञहरुको सल्लाह लिँदै अगाडि बढ्छौं भन्ने हिसाबले हाम्रो सोच आयो । त्यही अनुसार काम भयो ।
मेरो सपना भन्दा ठ्याक्कै फरक छ । २०५७ सालमा हामीले जुन कक्षा सन्चालन ग¥यौं । त्यत्तिबेलाको विद्यालय र अहिले २५औं सिल्भर जुब्लीको नजिक आउँदै गर्दा हालको पूर्वाधार, व्यवस्थापकीय पक्षदेखि लिएर यसमा अभिभावकको प्रत्यक्ष र अप्रत्यक्ष जुन लविङ छ त्यसअनुसार हामि धेरै नै अघि बढेका छौं जस्तो लाग्छ । भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा, दक्ष शिक्षक÷कर्मचारीहरुको व्यवस्थापनका हिसाबले हामी अब्बल भयौं । हाम्रा विद्यार्थीहरुले पनि राम्रो नतिजा ल्याए । विगतका वर्षलाई सम्झने हो भने हामी अब धेरै अघि बढि सकेका छौ ।
अहिलेसम्म विद्यालयमा कति लगानी गर्नु भएको छ ? मुनाफा कसरी बाँडफाँड भईरहेको छ ?
— हालसम्म विद्यालयमा हामीले ५० करोड भन्दा बढी रकम लगानी गरिसकेका छौं । लगानी गर्नेले नाफा खोज्नु स्वभाविक नै हो । हरेक वर्ष विद्यालयमा विभिन्न विकास निर्माणका केही न केही कामहरु भईरहने भएकाले विद्यालयले कहिल्यै पनि मुनाफा बाँड्न पाएन । स्थापनाको २५ वर्ष बितिसक्दा पनि हाम्रा सञ्चालकलाई एक रुपैयाँ पनि मुनाफा दिन सकिरहेका छैनौं । केही साथीहरुले मुनाफा कहिलेदेखि आउँछ भनेर सोध्नुहुन्छ ? हामीले निरन्तररुपमा विद्यालयको थप सेवा विस्तार गरिरहेको कुराले उहाँहरु पनि सन्तुष्ट हुनुहुन्छ । अहिलेसम्म लगानीकोे प्रतिफल खोज्नु भएको छैन भन्नेमा म विश्वस्त छु । त्यसैले पनि एक्काइसौं शताब्दी सुहाउँदो भौतिक पूर्वाधार निर्माण र थप शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सफल भएका छौं ।
विद्यालयले पाएको सफलतालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
— २०६७ सालमा हामीले एसएलसीमा मध्यपश्चिमाञ्चल स्तरीय क्षेत्रीय पुरस्कार प्राप्त गर्न सक्यौं । २०७० सालमा दोस्रो पटक एसएलसीकै क्षेत्रीय पुरस्कार जित्यौं । २०७३ सालमा पहिलो पटक एसईईको लुम्बिनी प्रदेशमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भयौं । त्यो नै हाम्रो सफलता हो जस्तो लाग्छ । नेपाल सरकारको एसएलसी÷एसईई परीक्षा वोर्डले हाम्रो शिक्षा गुणस्तरीय रहेछ भनेर बोलेको छ ।
त्यो त इभ्यालुएसनको पार्ट भयो । शिक्षामा ब्यवस्था भए अनुसार करिकुलम र सेलेवसलाई फ्लो गर्दै जाँदा जुुन किसिमको शिक्षा हामिले प्रदान गरिरहेका छौ त्यसैअनुसार हाम्रा शिक्षक÷कर्मचारीहरुले प्राक्टिकल सीप र ज्ञानका कुरालाई फोकस गरेर अगाडि बढेका छन् । त्यसैले हाम्रा विद्यार्थीहरुले हिजोको दिनभन्दा पनि आजको समयमा अझैं राम्रो गरिरहेका छन् । अहिलेको ग्लोबलाईजेसनको डिमाण्ड र च्यालेन्जलाई हेर्ने हो भने हिजोको दिन र अहिलेको दिनमा धेरै फरक छ । त्यसैले पनि हामि हरेक चुनौतिहरुलाई चिर्दै यस क्षेत्रमा हामी सफल भएका छौं ।
सबभन्दा पहिले त हाम्रा विद्यार्थीहरु अनुशासनमा रहे । शिक्षक मेहनती र कोर्ष कन्टेन्टको विषयमा परिपक्क छन् । शिक्षकले पठनपाठन गर्ने क्रममा परीक्षामा आउने प्रश्नहरु कुन किसिमले तयार गर्ने ? पढाउने शैली त धेरै छन् । त्यसको जिस्ट के हो, बच्चाले बुझ्नु पर्ने के हो ? भन्ने किसिमले हामी शिक्षकहरुलाई ट्रेन गरायौं । सबै विषयमा राम्रो अंक र ब्यवहारिक बनाउनका लागि धेरै मेहनत गरेका छौ्रं । सोही अनुसार विद्यार्थीहरुले पनि मेहनत गरिरहेका छन् ।
विद्यार्थीका लागि घर नै पहिलो विद्यालय र अभिभावक नै पहिलो शिक्षक हुन् भनिन्छ । गोरखाले विद्यार्थी मात्र होइन, अभिभावकलाई पनि पढाइरहेको छ । खासमा के पढाउनु हुन्छ ?
— अभिभावकलाई पढाउने त नभनौं । अभिमुखीकरण गरिरहेका छौं । हरेक दिन बढी समय विद्यार्थीहरु अभिभावकहरुसँग हुन्छन् । घरमा बस्दा पनि सेल्फ स्टडीको वातावरण भयो भने राम्रो हुन्छ । विद्यार्थीलाई राम्रो बनाउन अभिभावकज्यूहरुको पनि भूमिका महत्वपूर्ण हुन्छ । हामीले विगत दुई तीन वर्षदेखि अभिभावकहरुलाई पनि एक्सपर्ट र टे«नरहरुद्धारा गुणस्तरीय शिक्षाका बारेमा अभिमुखीकरण गरिरहेका छौं । अभिभावकले सन्तानलाई पढ मात्र भनेर भएन । कुन तरिकाले पढ्ने ? कसरी पढ्न प्रेरित गर्न लविङ गर्ने ? शिक्षकले विद्यालयमा विषयगत रुपमा गाइडलाइन दिएर बाटो देखाइदिने हो । त्यसपछि पाठ्यक्रमको कुनै पनि कोणबाट प्रश्न आयो भने कसरी हल गर्ने भन्ने विषयमा विद्यार्थीहरु स्वयम्ले बढी सेल्फस्टडी र गृहकार्य गर्नुपर्छ । त्यसका लागि अभिभावकहरुले पढ्ने वातावरण बनाईदिन मुख्य भुमिका निर्वाह गर्नुपर्छ । हामी तालिममार्फत अभिभावकलाई यही कुरा सिकाइरहेका छौं । अभिभावक मात्र होइन, पाठ्यक्रमलाई सहयोगी हुने खालको ज्ञानका लागि शिक्षक र विद्यार्थीलाई पनि हामीले बेला बेलामा तालिमहरु दिइरहेका छौं ।
शिक्षक र विद्यार्थीलाई कस्तो तालिम दिइरहनु भएको छ ?
— हामी नेपाल सरकारको निर्धारित पाठ्यक्रम त पढाउँछा्रै नै । त्यो भन्दा बाहेक विगत ३ वर्षदेखि हाम्रा विद्यार्थीको क्षमता वृद्धिका लागि विज्ञहरुको सहयोग बमोजिम अतिरिक्त पाठ्यक्रम पनि तयार गरेका छौं । जस अनुसार एक्टिभिटी वेस लर्निङ (एबीएल) र प्र्याक्टिकल वेस लर्निङ (पीबीएल) कार्यक्रम समावेस गरिएको छ । यो कार्य काठमाडौं विश्वविद्यालयका पिएडी स्कलर, टे«नर÷रिसोर्स पर्सन ढुंडिराज गिरी सरको सहकार्यमा सञ्चालित छ । हामीले विगत दुई वर्षदेखि हरेक शुक्रबार ब्यागलेस कार्यक्रम सन्चालन गरेका छौं । पाँच दिन भरी जति कोर्ष पढाइएको हुन्छ, सोहि अनुसार प्रत्येक शुक्रबारको दिनमा विषयगत शिक्षकहरुले एक्टिभिटी वेस लर्निङ र प्र्रोजेक्ट वेस लर्निङ विधिमा विद्यार्थीहरुलाई विभिन्न क्रियाकलाप गराई रहेका छौ । जसको फलस्वरुप विद्यार्थीहरुमा चौतर्फी ज्ञान र सिपको वृद्धि भएको महसुस गरेका छौं । हामीले उक्त कार्यक्रम प्रि—प्राइमेरी देखि कक्षा १० सम्मनै लागु गरिसकेका छौ ।
यी विधिबाट विद्यार्थीको क्षमता कस्तो विकास भएको पाउनु भयो त ?
— हामीले हरेक तीन÷तीन महिनामा शैक्षिक प्रदर्शनी गछौं । प्रदर्शनीमा विद्यार्थीहरु आफैले तयार बनाएका एक्टिििभटी र प्रोजेक्टहरु सबै प्रदर्शनीमा राख्छौ्रं । उक्त प्रर्दशनीमा अभिभावकहरुलाई बोलाई आफ्ना बावु÷नानीहरुले आफैले तयार बनाएका सबै प्रोजेक्टहरुको उद्देश्य के हो भन्ने बारे जानकारी गराउँछौ । सोको फलस्वरुप प्रत्येक विद्यार्थीमा चौतर्फी विकास हुँदै विषयलाई बुझ्ने, ग्रहण गर्ने जस्ता फरक फरक क्षमताको विकास भएको पाएका छौं ।
विद्यार्थी सबै एउटै लेवलको हुँदैन । उनीहरुले बुझ्ने क्षमता पनि एउटै किसिमको हुँदैन । तपाईहरुले तयार गरेको एक्टिभिटी वेस लर्निङ (एबीएल) र प्र्याक्टिकल वेस लर्निङ (पीबीएल)बाट विद्यार्थीको बुझाइ क्षमता विकास कत्तिको भएको पाउनु भयो ?
— यो पाठ्यक्रमको निर्माता ढुंडि सरसँग मैले यही प्रश्न सोधेको थिए । उहाँको एनालाइसिसमा विशेष गरी कक्षा ६ सम्मको विद्यार्थीलाई बुझ्दा धेरै राम्रो भइरहेको छ । विद्यार्थी सबै एउटै लेवलको हुँदैन । सैद्धान्तिक कुरा मात्र पढाएर स्लो लर्नरले बुझ्न सक्दैन । बुझ्न नसक्ने विद्यार्थीहरुलाई एबीएल र पीबीएल विधिले स्मरण गर्न सजिलो भएको छ । यो पाठ्यक्रम लागू गर्दा विगतको भन्दा फेल रेसियो निकै कम भएको छ ।
संस्थागत विद्यालयका विद्यार्थीलाई किताब र होमवर्कको भारीले सधैं थिचिरहेको हुन्छ भनिन्छ । तपाईहरु विदेशमा जस्तै व्यागलेस फ्राइडे मनाइरहनु भएको छ । खासमा त्यो दिन के गर्नुहुन्छ ?
— ब्यागलेसको अवधारणा विकसित देशहरुमा लागू भइरहेको छ । जहाँ शिक्षा राम्रो छ । त्यहाँ हप्ताका ६ दिन नै झोलामा किताब बोक्दैनन् । तिनीहरुको त्यही किसिमको संरचना सेटिङ हुन्छ । हुन त हामीले जुन दिन पढाइ हुने हो त्यही किताब मात्र ल्याएर आउने भनेका हुन्छौं । अरु किताब नल्याउने भन्छौं । त्यो रुटिनमा हुन्छ । विद्यार्थी अल्छी भएर सबै किताब झोलामा राखेर सबै बोकेर आउँछन् । शुक्रबारको दिन हामीले ब्याग बोकाएर बोलायौं भने त्यो दिन शिक्षकले किताब समातेर नपढाओस् । त्यो पाँच दिन पढाएको कुरालाई प्रोजेक्ट बेस र एक्टिभिटी वेसमा त्यही कुरा रिपिट अथवा रिभिजन गरे जस्तो होस भन्ने अवधारणा हो । विद्यार्थीले बिना बोझ रमाइलोे गर्दै विषयवस्तुबारे स्पष्ट हुन्छ ।
निजी विद्यालयले धेरै किताब र गह्रुंगो झोला बोकाएका छन् भन्ने कुरामा म सहमत छु । यसमा मेरो विमति छैन । हाम्रो विद्यालयको पञ्चवर्षिय गुरुयोजना अनुसार २०८४ देखि हामी सकभर क्लास ६ भन्दा माथि बुकलेसको अभ्यास गर्नेछौं । क्लास ६ भन्दा तल पनि किताब पनि कम हुन्छ । एक्ससाइज पनि कम हुन्छ । अब हामी सम्भवतः आइटीले कति सर्पोट गर्छ ? कक्षा ६ भन्दा माथिका विद्यार्थीहरुले ल्यापटप वा आइप्याड मात्रै ल्याएर आउन सोच बनाएका छौ । त्यो बारे हामिले विज्ञहरुसंग होमवर्क पनि गर्दैछौं ।
तपाईको विद्यालयमा यसरी पूर्ण रुपमा डिजिटल क्लास रुम सञ्चालन गर्न सम्भव छ त ?
— विगत दुई वर्षदेखि हामी सबै कक्षामा स्मार्ट बोर्डको माध्यमबाट इन्टरनेटमा आधारित भएर पठनपाठन सुरु नै गरिसकेका छौं । हाम्रा शिक्षकहरुले पुस्तक बोक्नु हुँदैन । पब्लिकेशनहरुले विभिन्न विषयका किताबहरु अहिले सफ्टकपी समेत निमार्ण सकेका छन । शिक्षकहरुले स्मार्ट वोर्डको माध्यमबाट पठनपाठन गराउछन् । हालसम्म हरेक विद्यार्थीले किताबको माध्यमद्धारा अध्ययन गरिरहेका छन् । भविश्यमा विद्यार्थीलाई पनि उक्त सफ्टकपिको माध्यमबाटै पठनपाठन गराउने सोच गरेको छौ । विद्यार्थीले किताब घरैमा राखेर रिडिङ र राइटिङको अभ्यासका लागि अनिवार्य प्रयोग गर्नु पर्नेछ ।
हाम्रो पञ्चवर्षिय गुरुयोजना (२०७९ देखि २०८४) बनेको छ । हाम्रा विद्यार्थीहरु बिहाँन ७ देखि बेलुका ६ बजेसम्म विद्यालयमा रहनेछन् । १० देखि ४ बजेको समयले त अहिलेको सैद्धान्तिक कोर्ष पूरा गर्न मात्र ठिक्क छ । यसरी सोचेको बाँकी समयमा विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउने छौ ।
गोरखालाई त ब्रिटिस शैलीको विद्यालय हो भनिन्छ नि ? खास कुरा के हो ?
— स्कुुल सन्चालन गर्ने विधि, विधान र प्लानिङ हाम्रो ब्रिटिस शैलीको छ । विद्यालय सन्चालन विधि, कार्यरत शिक्षक र कर्मचारीको मूल्यांकन ब्रिटिस विधिमा भइरहेको छ । हामी सिस्टममा चल्छौं । सिस्टमले काम गर्ने हो । जुन कुरा हामीले ब्रिटिस आर्मीबाट अनुभव गरेका कुरा अवलम्वन गरेका हौं । बाल अधिकार, मानव अधिकार सबै कुराको रक्षा गर्ने र पालना गर्ने काम हामी गर्छौं । यहाँ पढ्ने विद्यार्थीले पनि यही वातावरण सिक्छ । हाम्रो विद्यालयको गेटबाट प्रवेशको इन्ट्री सिस्टमदेखि विद्यालयको लेआउट डिजाइन, अनुशासन, विद्यालय परिसरमा राखिएका कोटेसनहरुले पनि विद्यार्थीलाई सिकाइरहेको हुन्छ । जुन कुरा ब्रिटिस आर्मी शैलीको रहेको छ ।
संस्थागत विद्यालय भनेको घोकन्ते शिक्षा मात्र हुन्छ । विद्यार्थी केवल किताबी किरो मात्र बन्छन्् । विद्यार्थीको चौतर्फी विकास हुँदैन भन्ने बुझाइ पनि छ । तपाई के भन्नुहुन्छ ?
— हाम्रो विद्यालयका विद्यार्थी अतिरिक्त क्रियाकलापमा पनि अब्बल साबित भएका छन् । हाम्रा विद्यार्थीले हरेक क्षेत्रमा उत्कृष्ट नतिजा नै ल्याएका छन् । रनिङ शिल्ड, हाजिरीजवाफ प्रतियोगिता, वादविवाद, नृत्यमा पनि हाम्रा विद्यार्थीले धेरै पटक प्रथम पुरस्कार जितेका छन् । पालिका, जिल्ला, प्रदेश हुँदै हाम्रा विद्यार्थीले राष्ट्रिय स्तरको प्रतियोगितामा पनि भाग लिइरहेका छन् । हामीले सबै किसिमका अतिरिक्त क्रियाकलापमा सहभागिता गराएका छौं । कोहलपुर नगर स्तरीय रनिङ शिल्डमा हामीले तीन वर्ष लगातार जितेर शिल्ड नै पच गरेका छौं । बाँके जिल्ला स्तरीय रनिङ शिल्डमा पनि तीन वर्ष जितेर शिल्ड पच गरेका थियौं । यस्ता धेरै सफलता हामीले पाएका छौं । हामी पाठ्यक्रममा पनि अब्बल र अतिरिक्त क्रियाकलापमा पनि अब्बल नै साबित भएका छौं ।
विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु उच्च शिक्षापछि कुन अवस्थामा छन् ? केही लेखाजोखा गर्नु भएको छ ?
— हामीले २५औं सिल्भर जुब्लीको अवसरमा विद्यार्थीबारे ५० प्रतिशत डाटा संकलन गरेका छौं । हाम्रो विद्यालयबाट कक्षा १० होस् वा प्लस टु पढेका विद्यार्थीहरु मध्ये धेरैको उच्च शिक्षा सफलताका साथ अघि बढेको छ । पढाइ रोकिएको छैन । डाक्टर, इन्जिनियर र सिए पनि बनिसकेका छन् । आइटी, कृषि, स्थानीय तह, निजामति कर्मचारीका रुपमा शाखा अधिकृतसम्म पुुगेका छन् । हामी सिल्भर जुब्लीको अवसरमा हाम्रै पूर्व विद्यार्थीहरुको ब्यवस्थापनमा र उनिहरुकै प्रत्यक्ष सहयोगमा २०८२ माघ १६ गते निःशुल्क स्वास्थ्य शिविर र निःशुल्क रक्तदान गर्दैछौं । त्यो स्वास्थ्य शिविरमा हाम्रा अभिभावकको फ्रि मेडिकल चेकअफ जस्तै ब्लड प्रेसर, सुगर टेस्ट, दाँत, आँखा जाँच हाम्रै विद्यार्थी जो डाक्टर र नर्सहरुद्धारा सञ्चालन गरिनेछ ।
हाम्रा विद्यालयमा कक्षा १० र प्लस टु पास भएका पूर्वविद्यार्थीहरु गुप्स अल्मुनाइ बनाएर हरेक वर्ष सामाजिक सेवाको काम पनि गरिरहेका छन् । उनीहरुले वर्षमा दुई पटकसम्म कहिले दुर्गममा स्वास्थ्य शिविर गर्छन् भने कहिले विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन । ति क्रियाकलाप हाम्रै पूर्व विद्याथीहरुको विज्ञ समूहबाट नै हुन्छ । उक्त सामाजिक सेवा तथा विभिन्न सेवा मुलक कार्यक्रम सञ्चालन गर्नका लागि विद्यालयले हरेक वर्ष पूर्व विद्यार्थीको संगठनलाई (गुप्स अल्मुनाइ) वार्षिक रुपमा रु. १० लाख रुपैयाँ विनियोजन गरेका छौ ।
त्यसो त विद्यालयले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै सेवाका कार्य गरिरहेकै हुन्छ । जस अनुसार खजुराको क्यान्सर, कोहलपुर शवदाह गृह निमार्ण, कोभिडको समयमा कोहलपुर नगरपालिकाको माध्यमबाट कार्यरत शिक्षक÷कर्मचारीहरुले १ दिन बराबरको तलबरकम आर्थिक सहयोग, वागेश्वरी बहुमुखि क्याम्सप भवन निमाणार्थ आयोजित महायज्ञमा आर्थिक सहयोग, राप्तीसोनारी वडा नं ४ मा प्राकृतिक विपत्ती भएको स्थानमा लुगाकपडा र आर्थिक सहयोग गर्नुका साथै नेपालगंज स्थित नील सागर वृद्धा आश्रममा हरेक वर्ष विद्यालयले जुनियर रेडक्रस विद्यार्थीको समन्वयमा सहयोग गर्दै आईरहेको छ ।
जुनियर रेडक्रस र स्काउट विद्यालयमा किन आवश्यक देख्नु भयो ?
— रेडक्रस भनेको मानवको जीवन मरणको अवस्थामा मानव सेवाको त्यस्ता स्थानमा पुग्ने गरेको हुन्छ । विपद र संकटको बेलामा रेडक्रसले मान्छेलाई बचाउँछ । यदि विद्यार्थीहरुलाई हामीले त्यो रेडक्रसको महत्व बारे ज्ञान सिकाउन सकियो भने मानव भित्र दया भनेको के हो ? माया कसरी गर्नुपर्छ ? सहयोग कसरी गर्नुपर्छ ? भन्ने कुरा विद्यार्थीहरुलाई अनुभुति गराउदछ । विद्यालय पछिको उसको जीवनमा यस्ता घटना आउँदा उसले सो विवेक पु¥याएर समाजको आवश्यकता परिपूर्ति गर्न सक्छ ।
नेपाल स्काउट हामीले यही वर्षदेखि गठन गरेका छौ । स्काउटले अनुशासन सिकाउँछ । हामीले सबै विद्यार्थीलाई त सक्दैनौं । अध्ययनरत ३० जना विद्यार्थीलाई स्काउट शिक्षामात्र दिन सकियो भने पछि ऊ परिपक्क भएर समाजमा पुग्छ ।
विद्यालयले पशु, पन्छी र किरा पनि पालेको छ । यसको आवश्यकता किन भयो ?
— हाम्रो विद्यालयमा किरा संरक्षणका लागि जिन बैंक स्थापना गरिएको छ । हाम्रो विद्यालयले कृषिमा स्नातक तह पनि पढाउँछ । त्यो कोर्षमा इन्सेक्ट पनि पढ्नु पर्छ । मौरीपालन पनि छ । यसको बारेमा एउटा सेमेष्टर नै पढाइ हुन्छ । कक्षा ७ मा पनि मौरीपालनको कोर्ष छ । हामीले त बोर्डमा मात्र पढाउने गथ्र्यौ । बच्चालाई मौरीको घार देखाउन धेरै ठाउँमा लैजानु पथ्र्यो । त्यसरी जाँदा समय पनि खेर जाने भयो । हामी यही गरौं भनेर सुरु गरेका हौं । हामीले नार्कको प्रा.डा. बालकृष्ण जोशी सर र सोका स्थानिय विज्ञ पुरमल बस्नेतसँग सल्लाह गरेका थियौं । नार्कले जिन बैंक भनेर रिकजनाइज गर्नुपर्छ । हाम्रो खुसीले मात्र राख्ने होइन । नेपालभरी स्कुल जिन बैंक भनेको दुई वटा मात्र छ । त्यो एउटा काठमाडौंको बुढानिलकण्ठ स्कुल र अर्को हाम्रो गोरखा स्कुलमा छ भनेर नार्कको वेभसाइटमै राखेको छ । भारतबाट कृषि पढ्ने विद्यार्थीले पनि हाम्रो जिन बैंक भिजिट गरेका छन् । हाम्रो जिन बैंकमा ३० देखि ४० प्रकारको किरा र जीवहरु संरक्षण गरेका छौं । जिन बैंकमा भनेको इन्सेक्ट, प्लान्ट, नर्सरी, बिऊ, जिवजन्तु र जडिबुटि गरी ६ वटा जिन बैंक नै यही स्थापना गर्ने तयारी गर्ने सोच गरेका छा्रैं ।
संस्थागत विद्यालयका शिक्षकलाई टिकाउन सकिँदैन । बर्सेनि परिवर्तन हुन्छन् । तपाईको विद्यालयमा भने प्रावि तहमा प्रवेश गरेका शिक्षक वर्षौ वर्ष यही काम गर्दै अपग्रेड हुँदै प्र्राचार्यसम्म पुगेको देखिन्छ । यो विद्यालयमा शिक्षकको लागि त्यस्तो के आकर्षण छ ?
— हाम्रो अहिलेको प्रिन्सिपल साधना थापा मेडम २०५७ सालदेखि कार्यरत हुनुहुन्छ । हाम्रो विद्यालय स्थापना भएको र उहाँले काम गरेको दुबै २५ वर्ष नै पुग्यो । सुरुका वर्षमा उहाँ प्राविको कक्षा ५ सम्म पढाउनु हुन्थ्यो । विगतका प्रिन्सिपल तथा अहिलेको प्लस टु हेर्ने हाम्रो शैक्षिक सल्लाहकार राजेन्द्र गुरुङ सर पनि स्थापनाकाल देखि कार्यरत हुनुहुन्छ । भाइस प्रिन्सिपल बद्रि प्रसाद शर्माले जागिर गर्न थालेको १९ वर्ष भयो । उहाँ पनि प्रा. वि. लेवलको सोसलको शिक्षक हुनु हुन्थ्यो ।
पैसा मात्र ठूलोे कुरा होइन । शिक्षकले विद्यालयमा शैक्षिक वातावरण पायो कि पाएन ? टिम स्प्रीट के छ ? राम्रो वातावरण पाउन सकेमा शिक्षकले कक्षाकोठामा पनि विद्यार्थीलाई त्यही वातावरण सिकाउछ । तब कक्षाकोठा फ्रेन्डली हुँदोरहेछ । कोरोनाको समयमा नेपाल सरकारले ६ महिनासम्म शुल्क लिन नपाउने भन्यो । शुल्क नै नलिने भएपछि हामीले शिक्षक÷कर्मचरीलाई तलब नै दिन नसक्ने अवस्था आयोे । हामीले त्यस्तो अवस्थामा पनि बैंंकबाट ऋण लिएर भए पनि तलब खुवाएका थियौं । हाम्रो विद्यालयले शिक्षक÷कर्मचारीलाई समय सापेक्ष अनुसार तलबको ब्यवस्था गरेको छ । शिक्षक र कर्मचारी हाम्रो ब्याक बोन हो भनेर हामीले सम्मान गरेका छा्रंैं । यहाँ काम गर्ने सबैको काम बराबर हो । हामी यहाँ कोही पनि सानो ठूलो हुँदैन । प्रिन्सिपल भनेको सिस्टमले बनाएको हो तर सबै शिक्षक समान हो । मैले त सधै भन्ने गरेको छु, बोस भनेको हाम्रो अभिभावक र विद्यार्थी हुन ।
विद्यालयले २०८२ श्रावणदेखि कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई अनिवार्यरुपमा सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको छ । जस अनुसार न्यूनतम् पारिश्रमिक तोकेर त्यसको २० प्रतिशत विद्यालयले र शिक्षक कर्मचारीले ११ प्रतिशत रकम कट्टा गरी जम्मा हुन आउने रकम उक्त कोषमा मासिक जम्मा भइरहेको छ ।
विद्यालयका भावी योजनाहरु के के छन् ?
— म सपना धेरै देख्छु । त्यो सपना पूरा गर्न एक्सपर्टको राय सल्लाह लिनैपर्छ । मैले दुई जना एक्सपर्टको सुझावका आधारमा तयार गरेको पञ्चवर्षीय गुरुयोजना बनेको छ । हामी पूर्ण रुपमा प्रविधिको प्रयोग मार्फत कक्षाकोठालाई डिजिटलमय बनाउँदैछौं ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि पढ्दै कमाउँदैको अर्को योजना पनि छ । हामी पहिलो पटक सिल्भर जुब्लीसम्म काम गर्ने शिक्षक÷कर्मचारीलाई मेडलसहित सम्मान गर्दैछा्रैं । विद्यालयमा गुणस्तरीय शिक्षा र शिक्षामा सुधार गर्नेबारे विद्यालयमा शैक्षिक बहस (कनक्लेभ) पनि गर्दैछौं । सिटीभिटीइले निजी क्षेत्रलाई पनि डिप्लोमा लेवलको कार्यक्रमहरु दियो भने प्लम्बिङ, इलेक्ट्रोनिक्स, भेटनरी, जेटिए जस्ता कार्यक्रमहरु भविश्यमा सन्चालन गर्ने तयारीमै र्छौंै ।
२५ वर्षको अवधिमा विद्यालयलाई कुन रुपमा स्थापित गर्न सफल भए जस्तो लाग्छ ?
जतिबेला जिल्लामा थोरै संस्थागत विद्यालय थिए । विद्यालय अरुकै भवनमा जेनतेन चलिरहेका थिए । हामीले ठूलो क्षेत्रफलमा अत्याधुनिक विद्यालय भवन र अन्य संरचना निमार्ण गरेर पढाउन थाल्यौं । विद्यालय परिसर भित्र कक्षाकोठा मात्रै बनाएनौं । विद्यार्थीको चौतर्फी विकास गरी राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा कम्पीट गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने पूर्वाधार बनायौं । हाम्रा शिक्षक पाठ्यक्रम पूरा गर्ने मात्र नभई विद्यार्थीको उच्च भविष्य निर्माण गर्ने असल अभिभावक बने । फलफूल, जडिबुटी र छहारी दिने बिरुवाले विद्यालयलाई प्राकृतिक सुन्दरताले भ¥यौं । जीवजन्तु पालेर जैविक विविधताको संरक्षण ग¥यौं । इकोफ्रेण्ड्ली स्कुल बनायौं । सबै कला र संस्कृतिको विविधता र एकतालार्ई सम्मान ग¥यौं । विद्यार्थीलाई पाठ्यक्रमका सिद्धान्त मात्र घोकाएनौं । जीवनोपयोगी अभ्यासमा जोड दियौं । हाइस्कुलदेखि उच्च शिक्षासम्म हाम्रा विद्यार्थीले उत्कृष्ट नतिजा ल्याए । विद्यार्थीको नेतृत्व विकास गर्दै नैतिकता, अनुशासन र सांस्कृतिक जवाफदेहिताको पाठ सिकायौं । अहिले उनीहरु सेल्फ डिपेन्डेन्ट भएर समाज सेवा गर्दै असल नागरिक उत्पादन गर्ने गोरखा स्कुल शिक्षाको मन्दिर हो भनिरहेका छन् ।
फरक पृष्ठभूमिबाट आएर पनि तपाईको नेतृत्वमा विद्यालयले पाएको सफलतामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई अन्तमा के भन्नुहुन्छ ?
काम गरेर सानो भइन्न हजुर । सबैले सानो ठूलो भए पनि काम गर्नुपर्छ । मानव जाति भनेको काटे रगत सबैको आउँछ । ठूलो सानो कोही पनि हुदैन । सिस्टम मात्रै ठूलो हो । सिस्टमलाई फलो गर्नका लागि बोसले पनि फलो गर्नु पर्ने अपरिहार्य छ । सिस्टम ब्रेक भयो भने बोस होस् कि कर्मचारी सबै फन्दामा पर्छन् । त्यसैले सबैले सिस्टमको पालना गर्नै पर्छ । हामीले यहि मुलमत्रलाई अघि सारी विद्यालयलाई स्थापित गरेका हौं ।
१९ वर्षको जागिरबाट मेरो रिटायर्डमेन्ट भयो । मेरो दिमाखमा आर्मी र फौज मात्र थियो । विद्यालयको जिम्मा लिइसकेपछि मैले बल्ल आफ्नो देशको सिस्टम सबै कुरा सिक्न पाए । आफू नखटेसम्म प्रतिफल पाउनु बेकार हुँदोे रहेछ । मैले सबै एक्सपर्ट राखेको छु भनेर छोडिदिने हो भने त्यो काममा सफल भईदैन, निरन्तर निगरानी हुनैपर्छ । २०५६ सालमा जतिबेला विद्यालयका लागि इँटा ओछ्याइयो । अहिलेसम्म म लागेकै छु । मेरो सम्पूर्ण प्राइभेट लाइफदेखि प्राइभेट बिजनेसलाई थाती राखेर मैले सम्पूर्ण टाइम यो विद्यालयलाई दिएको छु । तसर्थ विद्यालय यो स्थानसम्म आएको छ ।
मान्छेको जीवन भनेको यात्रा हो । संघर्ष पनि हो । सिक्ने कुरा कहिल्यै सकिने रहेनछ । हामीले देख्ने गरेका छौं । ७० वर्षका बुढाबुढीले पनि स्कुल गएर बेसिक लेवलका क्लासहरु लिइरहनु भएको छ । उमेरले सिक्ने कुरामा बाधा गर्दैन । मेरो शैक्षिक योग्यता, अनुभव र बुद्धि विवेकले गर्न सक्ने सबै काम गरे । म कुनै पनि काम सोच्छु । त्यो क्षेत्रका एक्सपर्टसँग राय सल्लाह नलिएर म अघि बढ्दैन । यो अति नै महत्वपूर्ण छ । यो सबैले सिक्नुपर्ने कुरा हो ।
सबै संस्थापक साथीहरुले मलाई जुन मौका दिनुभयो । मलाई विश्वास गर्नु भयो । मैले पनि विश्वास घात गरेको भए, हुन नसक्ने कुरा गफ्फा लगाएको भए यत्तिको मान सम्मान र विश्वास पाउन सक्ने थिएन । उहाँहरुको विश्वास र मेरो अविच्छिन्न सेवाको नतिजा स्वरुप हामीले नगर, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा विद्यालयलाई चिनाउन सकेका छौं । पश्चिम नेपालमा विद्यालयलाई अब्बल साबित गरेका छौं । यो सफलतमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै जनाको राय, सल्लाह, साथ, सहयोग र सहकार्यले भूमिका खेलेको छ । गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालय खोल्न होस्टेमा हैसे गर्ने सम्पूर्ण सञ्चालकहरु, देश विदेशमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने गुरुबा गुरुआमाहरु, विद्यालयमा दिनरात नभनि काम गर्ने कर्मचारीहरु, शिक्षाविद् र शिक्षा प्रेमी सम्पूर्ण महानुभावहरु, आदरणीय अभिभावकहरु, हाम्रा प्रिय विद्यार्थी, बुद्धिजीवी, समाजसेवी, पत्रकारहरु सबैलाई म र विद्यालय परिवारको तर्फबाट २५औं वर्षगाँठको अवसरमा हार्दिक कृतज्ञता ब्यक्त गर्दछु । तपाईहरुबाट आगामी दिनमा पनि अझ बढी रचनात्मक सुझाव, सहयोग र सहकार्यको अपेक्षा गरेका छौं ।
(पत्रकार शंकर प्रसाद खनाल सँग आलेले गरेको कुराकानी स्मारिकाबाट लिइएको हो)






























