जसपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा पुनः संघीयता समाप्त पार्ने षडयन्त्र भइरहेको आरोप लगाउँदै त्यसविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बाँके निर्वाचन क्षेत्र नं. २ अन्तर्गत डुडुवाको कम्दीस्थित मिलन चोकमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सङ्घियता विरोधी शक्तिहरू सक्रिय भएको दाबी गरे । ‘यदि संघीयतामाथि प्रहार गरियो र यसलाई समाप्त पार्ने कुचेष्टा गरियो भने जसपा नेपाल ठूलो आन्दोलनमा उत्रिनेछ,’ उनले भने, ‘संघीयता विरोधीहरूको पहिचान गरेर उनीहरूको प्रयास असफल पार्न सबै एकजुट हुनुपर्छ ।’
नेपाल सरकारका पूर्व उप–प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर प्रदेशहरूलाई स्वायत्त अधिकार नदिएसम्म संघीयता सफल नहुने जिकिर गरे ।
जनसंख्याको आधारमा राज्यका सबै निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने माग राख्दै उनले मधेश, तराई र पहाडमा बसोवास गर्ने सबै समुदायलाई सामाजिक, राजनीतिक र आर्थिक रूपमा अगाडि बढाउन संविधान संशोधन आवश्यक रहेको बताए । उनले विगत ३५ वर्षदेखि पालैपालो सत्ता चलाउँदै आएका दलहरूको गलत क्रियाकलापका कारण जनतामा आक्रोश र असन्तुष्टि बढेको टिप्पणी गरे । ‘पछिल्लो ३५ वर्षमा ३० पटक सरकार फेरिएको छ । राजनीतिक अस्थिरता ठूला दलहरूको कारण उत्पन्न भएको हो,’ उनले चुनावी सभामा बोल्दै भने ।
अध्यक्ष यादवले भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’ भ्रष्टाचार र कुशासनविरुद्धको विद्रोह भएको दाबी गरे । आन्दोलनलाई गोली प्रहार गरेर दबाउन खोज्दा दुई तिहाइको दम्भ ढलेको र प्रधानमन्त्री तथा मन्त्रीहरू हेलिकोप्टर चढेर भाग्नुपरेको आरोप उनले लगाए ।
अध्यक्ष यादवले लामो समयसम्म काँग्रेस एमालेले सरकार चलाएको उल्लेख गर्दै तिनकै कारण देशमा विद्यमान समस्या उत्पन्न भएको आरोप लगाए । ठूला दलहरूको शासनकालमा ठूला भ्रष्टाचार काण्डहरू भएको, दर्जनौं उद्योग तथा कलकारखाना बन्द भएको र हजारौं युवा बेरोजगार बनेको उनले दाबी गरे । ‘जनताका लागि काम गर्नुको सट्टा आफ्ना दल र कार्यकर्ताका लागि मात्रै काम गर्नेहरूले फेरि मत मागिरहेका छन् । अब जनताले प्रश्न गर्ने बेला आएको छ, पूर्व उप–प्रधानमन्त्री उनले भने ।
संविधानले मधेशी तथा मुस्लिम समुदायको पहिचान स्थापित गरेको उल्लेख गर्दै उनले त्यो अधिकार मधेश आन्दोलनबाट सम्भव भएको दाबी गरे । ‘आज कुनै पनि मधेशी वा मुस्लिम समुदायका नागरिकले शिर निहुराएर हिँड्नुपर्ने अवस्था छैन,’ चुनावी सभामा उनले भने ।
सभामा उम्मेदवारहरूको आग्रह
कार्यक्रममा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार कमरुद्दिन राईले आफू जनताको हितमा काम गरेका कारण विपक्षीहरू त्रसित भएको दाबी गरे। पैसाको प्रभाव र शक्ति प्रयोग गरेर मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको भन्दै उनले मतदातालाई सचेत रहन आग्रह गरे ।
बाँके क्षेत्र नं. ३ का उम्मेदवार सूर्यलाल यादवले अधिकार र पहिचानको रक्षा तथा संघीयता जोगाउन जसपा नेपालका उम्मेदवारलाई जिताउन अपिल गरे ।
लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेकी जसपा केन्द्रीय सदस्य अम्बिका काफ्लेले वैचारिक सिद्धान्त भएको पार्टी जसपा मात्र रहेको दाबी गर्दै संघीयता र मधेश मुद्दा जोगाउन आफ्नो पार्टीका पक्षमा मत हाल्न आग्रह गरिन् ।
नेतृ काफ्लेले विषम राजनीतिक परिस्थितिमा निर्वाचन हुन लागेको दाबी गर्दै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह पनि गरिन् ।
चुनावी सभाअघि नेपालगन्जमा जसपाले र्याली गरेको थियो ।
