चुनावी सभामा पुग्यो बहिष्कारको पत्र

उम्मेदवारलाई निर्वाचन बहिष्कारको आह्वान गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीले पत्राचार गरिरहेको हो

कार्यक्रम थियो, बृहत् चुनावी सभा । प्रमुख वक्ताका रुपमा पार्टी केन्द्रीय सभापतिको पर्खाइमा रहेको भव्य सजावटको मञ्चमा आसिन बाँकेका तीन वटै काँग्रेस उम्मेदवारलाई पत्र पुग्यो, ‘उम्मेद्वारी फिर्ता लिनुस्, निर्वाचन बहिष्कारमा सहयोग गर्नुस् ।’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति बाँकेका सचिव प्रेम थापा आफै पत्र लिएर नेपाली काँग्रेस बाँकेका सचिवसमेत रहेका बाँके निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार सुधान्शु कोइरालालाई भेटे, र पत्र दिंदै भने, ‘हाम्रो अभियानलाई सहयोग गर्नुस् ।’

क्रान्तिकारी पार्टीका नेता थापाले मञ्चासिन तीन वटै उम्मेदवारका पत्र कोइरालालाई बुझाएर, हतार हतार, बाहिरिंदा हजारौंका संख्याका काँग्रेस समर्थक ‘अबकी बार गगन सरकार’ को नारा लगाउँदै मुख्य वक्ता, पार्टी सभापति गगन थापाको पखाईमा व्यग्र थिए । कडा सुरक्षा व्यवस्था थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रतिनिधिसभा निर्वाचन–२०८२ बहिष्कारको चरणबद्ध आन्दोलन गरिरहेको छ । त्यसै सन्दर्भमा उम्मेदवारहरुलाई बहिष्कारको आह्वान गर्दै पत्राचार गरेको पार्टी केन्द्रीय नेता दीपक बहादुर शाहीले बताए । उक्त पार्टीले वर्तमान निर्वाचन प्रक्रिया, सरकारको भूमिका तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका कारण देशको राष्ट्रियता र सार्वभौमिकता कमजोर बन्दै गएको आरोप लगाएको छ ।

उक्त पार्टीले उम्मेदवारलाई लेखेको पत्रकामा, सन् २००० यता अन्तर्राष्ट्रिय राजनीतिमा आएको परिवर्तन, विशेषगरी अमेरिकी साम्राज्यवादको प्रभाव र चीनसँगको प्रतिस्पर्धालाई उल्लेख गर्दै त्यसको प्रभाव नेपालमा समेत परेको दाबी गरिएको छ । ‘एमसीसीजस्ता परियोजनामार्फत विदेशी हस्तक्षेप बढाइएको, नेपालको भूमि सामरिक प्रयोगका लागि उपयोग गर्न खोजिएको र त्यसले राष्ट्रिय स्वाधीनतामाथि चुनौती थपेको’ पार्टीको ठहर छ ।

पार्टीले गत वर्ष सम्पन्न आमनिर्वाचनपछि बनेको सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै वर्तमान सरकार विदेशी शक्तिको प्रभावमा चलेको आरोप लगाएको छ । निर्वाचन प्रणाली र सरकार गठन प्रक्रियाले जनताको आकांक्षा पूरा गर्न नसकेको भन्दै पार्टीले यसलाई ‘साम्राज्यवादी शक्ति केन्द्रद्वारा प्रभावित अभ्यास’ को संज्ञा दिएको छ ।

पत्रमा नेपाली कांग्रेस, एमाले लगायतका ठूला दलहरूलाई लक्षित गर्दै उनीहरू राष्ट्रवादी चरित्रबाट विचलित भएको टिप्पणी गरिएको छ । देशमा बढ्दो आर्थिक संकट, बेरोजगारी र असमानताका लागि पनि वर्तमान सत्तारुढ शक्तिहरू जिम्मेवार रहेको आरोप पार्टीको छ ।

‘यही पृष्ठभूमिमा पार्टीले आगामी निर्वाचनमा आफ्ना तर्फबाट उठाइएका उम्मेदवार फिर्ता लिने निर्णय गरेको उल्लेख गर्दै सम्पूर्ण देशभक्त, प्रगतिशील तथा जनवादी शक्तिलाई निर्वाचन बहिष्कार अभियानमा सहभागी हुन आह्वान गरिएको हो,’ पार्टी पोलिटब्यूरो सदस्य शाहीले दैनिक नेपालगन्जसँग भने ।

नेता शाहीका अनुसार, विहीवार काँग्रेससँगै एमाले, रास्वपा, राप्रपा, राष्ट्रिय जनमत पार्टीलगायतका सबैलाई लिखित पत्राचार गरिएको छ । ‘धेरैजसो उम्मेदवारलाईनै पत्र दिइएको छ,’ शाहीले भने ।

Exit mobile version