बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तीव्र बन्दै गएको छ । उम्मेदवारी दिएका २० मध्ये यस क्षेत्रका १५ जना उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त देखिन्छन् । बाँकीले फिर्ता लिइसकेका छन् ।
‘मत परिवर्तन नगर्नु होला, म तपाइँहरूको साथमै छु,’ त्यसक्रममा नेकपाका उम्मेदवार दिपेन्द्र बिष्ट शनिवार नेपालगन्ज–१० सोफिया टोलमा यसरी देखा परे । सोचदेखि भोटसम्म परिवर्तनका नारा लगाउनेहरुलाई चुनौती दिंदै उम्दा युवा पुस्ताका उम्मेदवार विष्ट भने मत परिवर्तन गर्नुनपर्ने कुरा लिएर घरदैलोमा देखा परेका हुन् ।
सफल युवा उद्यमी विष्ट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका रुपमा पछिल्ला दिनमा नेपालगन्जदेखि डुडुवा गाउँपालिका, खडैचा, मोहनपुर फारम र सुब्बाकुरुवासम्म निरन्तर घरदैलो र टोलसभामा सक्रिय देखिएका छन् । उनको हुँकार दलीय पृष्ठभूमिभन्दा तागतिलो देखिएको छ । सक्रिय र अभूतपूर्व छ ।
शनिवार सोफिया टोलमा आयोजित भेटघाटमा तीन सयभन्दा बढी मतदातासँग प्रत्यक्ष संवाद गर्दै विष्टले विकास, सुशासन र स्थानीय प्राथमिकताबारे धारणा राखेका थिए ।
यतिबेला नेपाली कम्युनिस्ट पार्टी (लुम्बिनी प्रदेश) का सचिवालय सदस्य डिल्ली बराल (अमिर), अब्कल बम, नविन, गोपाल पुन, चन्द्रकान्ता सहितका नेताको सक्रियतामा विष्ट निर्वाचन अभियानमा छन् । जसको सिंगो चुनावी मोर्चा हाँकेकी छन्, संविधान सभाका तत्कालिन उप–सभामुख, पार्टी केन्द्रीय नेता पूर्ण कुमारी सुवेदीले ।
‘पार्टीमा चुनावी समीकरण र एकताका दृष्टिले यो सक्रियता महत्वपूर्ण मानिएको छ,’ निर्वाचन प्रचार संयोजक डा. डक्ट धिताल भन्छन्, ‘पार्टी केन्द्रीय संयोजक, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)नै यो निर्वाचन क्षेत्रलाई नजिकैबाट नियालिरहनुभएको छ ।’ डा. धितालको भनाइ यसरी पनि पुष्टि हुन्छ, पूर्वमन्त्री महेश्वर गहतराजदेखि पुराना पुस्ताका तर, सक्रिय नेता बेदप्रसाद आचार्यसम्मका नेताहरु अहिले विष्टको प्रचारप्रसारमा जुटेका भेटिन्छन् ।
प्रत्यक्ष संवादको रणनीति
प्रचार संयोजक डा. धितालका अनुसार अन्तिम चरणमा प्रत्यक्ष जनसम्पर्क र घरदैलो अभियान परिणाममुखी रणनीति मानिन्छ । बिष्टले टोल–टोलमा पुगेर खानेपानी, सडक, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा स्थानीयको गुनासो सुन्दै प्रतिबद्धता दोहोर्याइरहेका छन् ।
त्यसक्रममा डुडुवा–६ सुब्बाकुरुवा, वडा नं. २ घरबारी टोल तथा खडैचा गाउँमा भएको कार्यक्रममा व्यवसायी र कृषक समुदायसँग छुट्टाछुट्टै संवाद गरिएको थियो । व्यवसायीहरूले बजार व्यवस्थापन, कर सहजता र सुरक्षा माग गरेका थिए भने किसानहरूले सिँचाइ, मल–बीउ र उत्पादनको मूल्यबारे चासो राखेका थिए। बिष्टले कृषिलाई प्रविधिमैत्री र व्यावसायिक बनाउने तथा स्थानीय अर्थतन्त्र सुदृढ पार्ने अठोट व्यक्त गरेका छन् ।
आत्मीयता र प्रतीकात्मक सन्देश
‘घरबारी टोलमा स्थानीय व्यवसायीहरूले खादा ओढाएर गरेको स्वागतलाई राजनीतिक संकेतका रूपमा हेरिएको छ,’ विष्टको निर्वाचन कमाण्ड सम्हालिरहेकी नेतृ, सुवेदीले भनिन् । चुनावी प्रतिस्पर्धाको बीच देखिएको यस्तो आत्मीय दृश्यले समर्थनको मनोवैज्ञानिक सन्देश दिने नेतृ सुवेदीको भनाइ छ ।
निर्वाचन संयोजक सुवेदी भन्छिन्, युवा, महिला र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिताले अभियानलाई बहुआयामिक बनाएको देखिन्छ । ‘युवासँग रोजगारी र उद्यमशीलता, महिलासँग सीप विकास र स्वास्थ्य सेवा, ज्येष्ठ नागरिकसँग सामाजिक सुरक्षाबारे छलफल हुनु मतदातामाझ सम्बन्ध विस्तारको प्रयासका रूपमा लिइएको छ,’ आफैपनि कयौं पटक निर्वाचन लडेको अनुभव सम्झिदै सुवेदीले भनिन् ।
बढ्दो माहोल र चुनौती
माओवादी जनाधारमा टिकेको नेकपामा यसपटक नेकपा एससहितका पार्टी समाहित भएपछि पछिल्ला दिनमा देखिएको सहभागिता अपेक्षित रहेको पार्टी नेताको तर्क छ । तर, उनीहरु दिपेन्द्र विष्टको सक्रियता र समर्थनलाई ‘लहर’ कै संकेत हो भन्ने गरेका छन् । ‘तर, उत्साहित भैहाल्ने भन्दा सावधानी अपनाउन आवश्यक छ,’ चुनावी सभामा देखिने भीड र मतपेटिकामा प्राप्त मतबीच सधैं समानान्तर सम्बन्ध नहुन सक्ने सम्भावना औल्याउँदै विश्लेषक भन्छन्, ‘यो समर्थनलाई मतपेटिका भित्रसम्म डोर्याउन सक्नु पर्छ ।’ ।
बाँके–२ मा प्रतिस्पर्धा बहुपक्षीय भएकाले अन्तिम क्षणसम्म समीकरण बदलिन सक्ने आँकलन गरिएको छ । संयुक्त उपस्थितिमा देखिएको संगठनात्मक एकताले बिष्टको पक्षमा सकारात्मक सन्देश दिएको भए पनि मतपरिवर्तन रोक्न र समर्थकलाई मतदान केन्द्रसम्म ल्याउनु नै मुख्य चुनौती रहनेछ ।
परिणाममुखी अपेक्षा
स्थानीय बासिन्दाले अब आश्वासनभन्दा परिणाम खोजेको स्पष्ट संकेत दिएका छन् । प्रत्यक्ष संवाद, निरन्तर उपस्थिति र भावनात्मक अपिलले माहोल तातेको देखिए पनि अन्तिम निर्णय भने मतदाताको विवेकमा निर्भर रहनेछ नै ।
यसरी नेपालगन्जदेखि ग्रामीण बस्तीहरूसम्म फैलिएको सक्रियताले बाँके–२ को चुनावी प्रतिस्पर्धालाई रोचक मोडमा पु¥याएको छ । अब प्रश्न एउटै छ—बढ्दो उत्साह र समर्थन मतपेटिकामा कत्तिको रूपान्तरण हुन्छ ? त्यसको जवाफ भने मतदान परिणामले नै दिनेछ ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका मो. इस्तियाक राई र काँग्रेसका सुधांशु कोइरालाजस्ता राजनीतिक विरासत बोकेका उम्मेदवारसँग नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै विष्ट उम्मेदवार बनेका छन् । उनलाई ‘सोंच परिवर्तन अनि भोट परिवर्तन’ नारा दिने राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले पनि चुनौती दिएकै छन् । बाँकी उम्मेदवार पनि विभिन्न आकर्षक नारासहित मैदानमा फागुन २१ को प्रतिक्षा गरिरहेका छन् । भोट मागिरहेकै छन् ।
