बाँके क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद माेहम्मद इस्तियाक राईले निर्वाचनमा गरेकाे वाचा पुरा गर्दै मंगलवार भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा ‘नागरिक सहायता कक्ष’काे उद्घाटन गर्नुभएको छ ।
निर्वाचन प्रचारप्रसारका क्रममा राईले ‘निर्वाचन जितेकाे पन्ध्रदिन भित्र सेवा केन्द्र स्थापना गर्ने’ घाेषणा गर्नुभएको थियाे । निर्वाचन जितेकाे दश दिनमै सेवा केन्द्र शुरु भएको हाे । सेवा केन्द्र उद्घाटन गर्दै राईले भन्नुभयाे,-‘कागजात जलेका कारण श्रेष्ता कायम गर्न नागरिकले पैसा खर्च गर्नु परेकाे र निकै दु:ख झेल्नुपरेकाे कुरा सुनाउनु भएको थियाे । त्यही दु:ख देखेर मैले सेवा केन्द्रको वाचा गरेकाे थिए ।’
सेवा केन्द्र संचालन भएकोमा खुसी ब्यक्त गर्दै सांसद राईले ‘आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत हुने’ बताउदै भन्नुभयो,-‘ यहाँ सबैले सेवा लिन पाउनुहुन्छ तर जसले लेखापढीमा आर्थिक जाेहाे गर्न सक्नुहुन्न उहाँहरुले बढि भन्दा बढि सेवा उपभाेग गर्नुहाेला !’ राईले सेवा केन्द्र स्थापनामा सहयाेग गर्ने लुम्बिनी प्रदेश सरकार,नेपालगन्ज उपमहानगरपालिका र मालपोत तथा भूमिसुधार कार्यालय बाँकेलाई धन्यवाद दिनुभयाे ।
उहाँले सेवा केन्द्र सम्बन्धि वाचा पुरा भएको बताउँदै अन्य वाचा पनि पुरा भएरै छाड्ने बताउनुभयो । ‘मेराे वाचा पुरा भयाे की भएन काउन्टडाउन गर्नुहाेला ।’- राईले भन्नुभयाे,-‘ अरु जनप्रतिनिधिले पनि वाचा गरेका हाेलान्,उनीहरुको पनि निगरानी गर्नुहाेस् ।’
सेवा केन्द्र उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामला तथा कानून मन्त्री आदेश अग्रवाल, नेपालगन्ज उपमहानगरपालिकाका प्रशान्त बिष्ट सहभागी हुनुहुन्थ्यो । उहाँहरुले सांसद राईकाे पहलमा सेवा केन्द्र स्थापनाकाे पहलकदमी लिएको भन्दै आगामी दिनमा नागरिकको सेवासुविधाका लागि मालपोत कार्यालयलाई थप सहयाेग गर्ने प्रतिवद्ता जनाउनुभयाे ।
भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख सविन चौधरीले सेवा केन्द्र स्थापनाले लेखापढि सम्बन्धि कामका नागरिकलाई सहायता पुग्ने बताउँदै भन्नुभयो,-‘माननीय सांसद ज्यूलाई पहलकदमीका लागि धन्यवाद । सहयाेगका लागि प्रदेश र उपमहानगप्रति आभार ।’
