राजश्वमा प्रतिनिधि जाँदा अख्तियारनामा अनिवार्य

आन्तरिक राजस्व कार्यालय नेपालगन्जले कर सम्बन्धी सेवाहरू धेरै हदसम्म अनलाइन प्रणालीमार्फत उपलब्ध भइरहेका कारण करदातालाई सेवा लिने क्रममा निर्धारित प्रक्रिया पछ्याउन सूचना जारी गरेको छ । कार्यालयले करदाताहरूले सम्भव भएसम्म व्यक्तिगत रूपमा उपस्थित भएर सेवा लिनुपर्नेमा जोड दिँदै, प्रतिनिधि पठाउनु परेमा प्रचलित कानुनअनुसारको अख्तियारनामा र आधिकारिक पत्र अनिवार्य रूपमा साथमा हुनुपर्ने स्पष्ट पारेको छ ।

कार्यालयमा कुनै व्यक्तिले करदाताको तर्फबाट काम गर्न आउँदा संस्थाको परिचयपत्र तथा अधिकृत व्यक्तिको परिचय प्रमाण अनिवार्य रूपमा पेश गर्नुपर्ने कार्यालयले जनाएको छ । हाल केही अनाधिकृत व्यक्ति तथा समूहहरूले करदातालाई विभिन्न प्रलोभनमा पारी भ्रम सिर्जना गर्ने, अनावश्यक अवरोध उत्पन्न गर्ने गतिविधि देखिएको आएको भन्दै सरकारी कार्यालयमा प्रहरीलेनिगरानी बढाउँदै आएको छ ।

प्रचलित ऐन, नियम तथा प्रक्रियाअनुसार मात्र सेवा प्रवाह हुने भएकाले अवैध रूपमा गरिने कुनै पनि प्रयास गैरकानुनी मानिने चेतावनी कार्यालयले दिएको छ । साथै, करदाताले कुनै प्रकारको भ्रममा नपरी सिधै कार्यालयका सम्बन्धित कर्मचारीसँग सम्पर्क गरी सेवा लिन आग्रह गरिएको छ । कार्यालयले जारी गरेको सूचनामा पारदर्शी, मर्यादित र व्यवस्थित कर सेवा प्रदान गर्नु मुख्य उद्देश्य रहेको उल्लेख गर्दै कर प्रशासनमा सुधारका लागि सबैको सहयोग आवश्यक रहेको जनाइएको छ ।

‘कानुनी रूपमा हेर्ने हो भने, कुनै विशिष्ट कामको लागि राज्यले लाइसेन्स (अनुमति पत्र) को व्यवस्था गरेको हुन्छ । जस्तैः वकिल, डाक्टर, इन्जिनियर वा अडिटर । यस्तोमा बिना लाइसेन्सको व्यक्तिले त्यो काम गर्नु गैर–कानुनी हो’, सिए तेज प्रकाश दीक्षितले प्रक्रिया दिएका छन्, ‘तर, त्यो बाहेक कहीं पनि सेवा सहजकर्ताको आवश्यकता पर्छ भने सेवा सहज बनाउन सक्ने व्यक्तिले आवश्यक परेको सेवाग्राहीलाई आफ्नो सेवा दिए बापत शुल्क लिन सक्छ । यसलाई यो देशको कुनै पनि कानुनले रोक लगाएको छैन । बरु, यो त पेशा व्यवसाय गर्न पाउने संवैधानिक हक हो । यदि कुनै कार्यालयले यो कामलाई रोक्छ वा अपमान गर्छ भने, उसले नेपालको संविधान पुनः पढ्नुपर्ने आवश्यकता छ ।’

Exit mobile version