चालु आर्थिक बर्षको नौ महिनामा भ्रष्टाचार विरुद्धका २२ हजार बढी उजुरी दर्ता भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार, देशभर चालु आर्थिक बर्षको चैत्र मसान्तसम्म भ्रष्टाचारका २२ हजार १ सय १३ वटा उजुरी दर्ता भएका हुन् ।
अख्तियारको देशभर रहेका नौ वटा कार्यालयमा साउन र चैत्र महिनामा सबैभन्दा बढी उजुरी परेका छन् ।
चालु आ.व.को साउन महिनामा ३ हजार ९ सय २२ र चैत्र महिनामा ३ हजार १ सय ९० वटा उजुरी दर्ता भएको अख्तियारको तथ्यांक रहेको छ ।
अख्तियारमा भदौ महिनामा २ हजार २ सय ७६, असोज महिनामा २ हजार २, कार्तिक महिनामा १ हजार ९ सय ४५, मंसिर महिनामा २ हजार ६ सय २९, पुस महिनामा २ हजार ६ सय ७६, माघ महिनामा २ हजार १ सय २८, फागुन महिनामा १ हजार ३ सय ४५ वटा उजुरी विभिन्न माध्यमबाट दर्ता भएका छन् ।
अख्तियारमा सबैभन्दा बढी उजुरी आयोगको बेभसाइट मार्फत परेको छ । साउनमा परेका उजुरी मार्फत वेभसाइट मार्फत १ हजार १ सय ७६, भाद्रमा ७ सय १७, असोजमा ७ सय ८१, कार्तिकमा ६ सय ८१, मंसिरमा ९ सय १०, पुसमा ९ सय ६२, माघमा ६ सय ९९, फागुनमा ४ सय १९ र चैत्रमा १ हजार ८५ वटा उजुरी दर्ता भएका हुन् । अख्तियारले फेसबुक, इमेल, हुलाक, भाइबर, मोबाइल एप, हेलो सरकार, समाचारपत्र लगायतबाट पनि उजुरी दर्ता गर्दै आएको छ ।
नेपालगन्ज स्थित सम्पर्क कार्यालयमा ३ सय नाघ्यो
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयमा चालु आ.व.को ९ महिनामा ३ सय बढी उजुरी दर्ता भएका छन् ।
चार जिल्ला कार्यक्षेत्र भएको सम्पर्क कार्यालयमा चालु आ.व.को चैत्रसम्म ३ सय ६ वटा उजुरी दर्ता भएका छन् । यस बर्षको साउनमा सबैभन्दा बढी ५५ उजुरी दर्ता भएका थिए ।






























