बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा छाती रोग सम्बन्धी स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न भएको छ। उक्त शिविरमा करिब ७ वर्षदेखि ८० वर्षसम्मका सेवाग्राहीहरूले सहभागिता जनाई सेवा लिएका थिए।
शिविरमा डाक्टर सत्यकुमार शाही का अनुसार हालसम्म गरिएको स्क्रिनिङमा खासै जटिल वा गम्भीर समस्या देखिएको छैन। यसले समुदायमा छाती रोगसम्बन्धी अवस्था तुलनात्मक रूपमा नियन्त्रणमै रहेको संकेत गरेको उनले बताए।
उक्त शिविरमा रेडियोग्राफी सेवाका लागि रेडियोग्राफर परबिन चौधरी, बि.एन. एम.टी.का तर्फबाट सञ्जु सुनार, सञ्जय गोडिया र राम खत्रीको सहभागिता रहेको थियो। साथै वडा नं. १२ स्वास्थ्य कार्यालयका तर्फबाट आरती चौधरी र सालिग्राम थारूको पनि सक्रिय भूमिका रहेको थियो।
कार्यक्रम टीबी नेपाल को सहयोगमा सञ्चालन गरिएको थियो भने चार जना महिला स्वास्थ्य स्वयंसेविकाहरूले पनि सेवामा सहजीकरण गरेका थिए।
वडा कार्यालयका तर्फबाट वडा सदस्य राजकुमार बाल्मीकी ले यस्ता कार्यक्रमले स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको जानकारी दिए।
यसैगरी, वडा नं. १२ का कर्मचारी दीपा कुमारी उपाध्याय का अनुसार उक्त शिविरमा एक सयभन्दा बढी स्थानीयहरूले सेवा लिएका थिए।





























