नेपाली कांग्रेसले ‘जरा अभियान’ सुरु गरेको छ ।
बैशाख १ गतेदेखि एक महिनासम्म सञ्चालन हुने ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, सांगठनिक गतिविधि तथा नागरिक संवाद कार्यक्रम हुनेछन् । ‘जरा अभियान’ बारे जानकारी दिने उद्देश्यले नेपाली कांग्रेस बाँकेले मंगलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरेको छ ।
जिल्ला सभापति नारायण गौडेलले अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको काँग्रेसले बाँकेमा पार्टीका केन्द्रीय सदस्य केशवराज शर्मा आचार्य र लुम्बिनी प्रदेश सदस्य मोतिलाल भण्डारी प्रतिनिधि पठाएको बताए ।उनको भनाइमा, कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गरी जरा अभियान थालेको हो ।
मंगलबार पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य आचार्यले ‘जरा अभियान’ ले कांग्रेसको जीवनमा रुपान्तरण ल्याउने दाबी गरे । यो अभियानले कांग्रेसलाई बलियो र सुदृढ बनाउने उनको भनाइ छ ।
अर्का प्रतिनिधि भण्डारीले बाँकेमा १२ हजार क्रियाशील सदस्यता वितरण गर्ने लक्ष्य रहेको जानकारी गराउँदै अभियानको मूल उद्देश्य पार्टीको क्रियाशील सदस्यता प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनु रहेको बताए ।































