जीवन शर्मा, हेटौँडा
हारको साक्षी
जब सुकुम्बासी बस्तीमाथि डोजर गर्जियो,
त्यो केवल माटोको ढिस्को भत्किएको थिएन—
ती त सपनाहरू चर्किएको कारुणिक ध्वनि थिए।
जब धुलो उड्यो,
त्यसैसँगै उडिरहेका थिए—
अबोध आँखाहरूको मुस्कान,
थकित बा–आमाका लौरी र सहाराहरू,
अनि निरीह महिलाका चीत्कार र
अपाङ्गता जीवनका सन्तुलनहरू।
तर,
क्षितिजमा उभिएर तमासा हेर्नेहरू—
हुर्मत लिन पल्केका स्वार्थी झुण्डहरू—
तिनैका मुखबाट निस्कियो एउटा निर्लज्ज शब्द,
“स्याबास सरकार!”
जसरी यहाँ कसैको विनाश पनि उत्सव बनिदिन्छ।
त्यो ताली—
साहसको गुञ्जन थिएन,
त्यो त चाकडीको पराकाष्ठा थियो,
डरले थुरथुर कापेको चेतनाको उपज थियो।
यसपालि मान्छेहरू मात्र फेरिएनन्,
मानवताको परिभाषा नै अमानवीय भयो।
दृश्य यति बीभत्स थिए कि,
सायद इतिहासले पनि आफ्नै पानाहरूमा नजर झुकाउनुपर्यो।
नागरिक समाजको ओठमा ताल्चा झुण्डियो,
जसले गर्जनुपर्थ्यो, उही मौनताको दास बन्यो।
ती संस्थाहरू?
विज्ञप्तिका औपचारिक शब्दजालभित्र
आफ्नो ‘कर्तव्य’ तिलाञ्जली दिएर
फेसबुक र ट्विटरका भित्तामै सीमित रहे।
उता,
गरिब र निमुखाका आँखाहरू—
कसैले भयले झुकाए,
कसैले बाँकी रहेको आत्मसम्मान जोगाउन
अध्याँरो छायाँमै आफूलाई विलीन गराए।
अन्ततः—
बन्दुकको नाल र बुटको कर्कश आवाजले
एउटा कठोर घोषणा गर्यो— “जित।”
तर, एकछिन सुन—
यो हार हो
यो हार केवल ती ओतविहीनहरूको मात्र होइन।
यो हार—
तिम्रो हो, मेरो हो,
हाम्रो मरेको विवेकको हो।
यो हार त सिङ्गो समाजको हो,
जसले सपनाहरू भत्किएको टुलुटुलु हेरिरह्यो।





























