एक महिनाभित्र अवरोध हटाउने तयारीमा हुलाकी सडक
वर्षाैदेखि अवरुद्ध नेपालगन्जस्थित हुलाकी सडकअन्तर्गत धम्बोझीदेखि नन्दनी मिलसम्मको सडक विस्तारलाई तीव्रता दिने प्रक्रिया अघि बढाइएको छ । सडकको निरन्तरता र प्रभावकारिता कायम राख्न उक्त खण्डलाई प्राथमिकतामा राखिएको भन्दै आयोजना प्रमुखले एक महिनाभित्र अवरोध हटाएर काम अघि बढाउने तयारी गरिएको जानकारी दिएका छन् ।
हुलाकी सडक आयोजना नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीका अनुसार, धम्बोझी–नन्दनी मिल खण्ड समयमै विस्तार गर्न नसकिए हुलाकी सडकको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था रहनेछ । हाल यो खण्ड अधुरो हुँदा सवारीसाधनलाई बाइपास प्रयोग गर्नुपर्ने बाध्यता रहेको र यसले यात्रु तथा स्थानीय व्यवसायमा समेत नकारात्मक प्रभाव पारेको बताइएको छ ।
यस परियोजनालाई अगाडि बढाउन उच्च तहबाट निर्देशन प्राप्त भइसकेको र प्रमुख जिल्ला अधिकारी, नगरप्रमुख लगायत सरोकारवाला निकायसँग समन्वय गरेर सहमति जुटाइएको उहाँले जानकारी दिए । स्थानीय तहसँग भएको छलफलपछि सडक विस्तारमा सहकार्य गर्ने सहमति भइसकेको छ । सोमवारमात्रै पनि त्यसबारे आवश्यक छलफल गरिएको योजना प्रमुख भण्डारीले बताए ।
स्थलगत अध्ययनका क्रममा अधिकांश घरधनीहरूले सडक मापदण्डअनुसार करिब १५ मिटर पछाडि संरचना बनाइसकेको पाइएको र बाँकी संरचना हटाउनसमेत उनीहरू सकारात्मक देखिएको जनाइएको छ । आयोजना पक्षले स्थानीयसँग निरन्तर संवाद गर्दै संरचना हटाउने प्रक्रियालाई सहजीकरण गर्ने तयारी गरेको छ ।
हालै संशोधित सार्वजनिक खरिद ऐनअनुसार कुनै पनि नयाँ ठेक्का प्रक्रिया अघि बढाउँदा निर्माण क्षेत्रमा रहेका अवरोध हटाइएको वा हटाइने सुनिश्चितता अनिवार्य गरिएको छ । यही कानुनी व्यवस्थालाई आधार मानेर आयोजना कार्यालयले पहिले संरचना व्यवस्थापन र त्यसपछि निर्माण कार्य अघि बढाउने रणनीति अपनाएको जनाएको छ ।
आयोजना कार्यालयले यस सम्बन्धमा सार्वजनिक सूचना जारी गर्ने तयारीसमेत गरेको छ । सम्बन्धित निकाय र स्थानीय समुदायबीच सहकार्य गर्दै तोकिएको समयभित्रै अवरोध हटाई सडक विस्तार कार्यलाई गति दिने लक्ष्य राखिएको छ ।
यो पहललाई हुलाकी सडकको प्रभावकारी सञ्चालन, यातायात सहजता र स्थानीय आर्थिक गतिविधि प्रवद्र्धन गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।



























