नेपाल–भारत सम्बन्धलाई परम्परागत र ऐतिहासिक रुपले लिनुपर्ने भन्दै मंगलबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रमका वक्ताहरुले कुनै पनि कारण वा वहानामा यसलाई बिगार्न, भत्काउन नहुने बताएका छन् ।
नेपाल–भारत जनमैत्री संगठनले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मैत्रीपूर्ण दुई देश बीचको सम्बन्धलाई धार्मिक, आध्यात्मिक र व्यापारिक दृष्टिले अझ बलियो बनाउँदै लैजानु पर्ने उनीहरुको जोड थियो ।
संगठनका जिल्ला अध्यक्ष सुमन धिमालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका अन्तर्राष्ट्रिय महासचिव सम थापाले नेपाल–भारत सम्बन्धको ऐतिहासिकता र पृष्ठभूमि प्रकाश पारेका थिए ।
‘अझ सीमावर्ती क्षेत्रमा बस्ने नागरिकहरुको रोटीबेटीको सम्बन्धलाई कुनै पनि कोणबाट नजरअन्दाज गर्न मिल्दैन’, उनीहरुलाई सीमा रक्षकका रुपमा परिभाषित गर्दै महासचिव थापाले भने, ‘राजनीतिक र भौगोलिक रुपमा विभाजन जसरी भएपनि त्यसको मर्मलाई जनस्तरबाट बुझिनु पर्छ ।’
वरिष्ठ समाजसेवी माधव राम बर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगठनका चन्द्रशेखर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शंकर न्यौपानेले सञ्चालन गरेका थिए ।




























