कोहलपुर नगरपालिकाले क्रिकेट मैदान आसपासको नगर विकास समितिको जग्गा अतिक्रमण गरेर बस्नेहरूलाई आज शनिबार हटाउने भएको छ ।
यसअघि नगरपालिकाले १० दिनको समय दिएर अतिक्रमित क्षेत्र खाली गर्न सूचना जारी गरेको थियो । उक्त समय सीमा शुक्रबार साँझ सकिएको छ ।
यसअघि भूमिहीन सुकुम्बासी बस्ती नगरपालिकाले हटाउन लागेको भन्दै भूमिहीन, सुकुम्बासीले प्रदर्शन तथा नगरपालिका घेराउ गरेपनि कोहलपुर नगरपालिकाले त्यसलाई वेवास्ता गर्दै नगर विकास समितिको अतिक्रमित जग्गा खाली गराउने तर्फ अगाडि बढेको छ ।
त्यसका लागि कोहलपुर नगरपालिकाले भूमिहीन सुकुम्बासीलाई अस्थायी रूपमा राख्नका लागि १६ वटा होल्डिङ्ग सेन्टर बनाइसकेको छ ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले नगर विकास समितिको अतिक्रमित क्षेत्र खाली गर्ने स्पष्ट पारेका छन् । अतिक्रमित क्षेत्र खाली गरेपछि भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा चुनौति रहेको भन्दै त्यसका लागि प्रतिबद्धता समेत जनाएका छन् । ‘अब चुनौति वास्तविक भूमिहीन, सुकुम्बासीको व्यवस्थापन हो’, नगर प्रमुख आचार्यले भने ।
कोहलपुर नगरपालिकाले यसअघि नै क्रिकेट मैदान आसपास नगर विकासको समितिको जग्गा कब्जा गरेर बसेकाहरूको लगत संकलन गरी छानबिन समेत अगाडि बढाएको छ । नगरपालिकाका अनुसार, हाल नगर विकास समितिको जग्गा अतिक्रमण गरी ७ सय ५१ वटा घर, टहरा रहेका छन् । जसमा अव्यवस्थित बसोबासी ४ सय १६, भूमिहिन दलित १ सय ७२, भूमिहीन सुकुम्बासी १ सय ६३ छन् ।





























