नेपालगन्ज–दिल्ली सीधा हवाई उडान सुरु गर्नका लागि वर्षाैंदेखिको मागमा नेपालगन्ज उद्योग वाणिज्य संघले दबाब बढाउने भएको छ ।
बेलाबेलामा सरोकारवालाहरू उडानको दबाब बढाउन सक्रियता देखाएपनि निरन्तरताको अभावले कुनै सकारात्मक परिणाम आउन नसकिरहेको बेला निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघले दबाब बढाउने भएको हो । त्यसका लागि बुधवार सरोकारवालाहरुबीच समन्वय बैठक गरेको संघले छिट्टै जनप्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ ।
संघीयतासँगै गरिएको राज्य पुनःसंरचनापछि पछाडी परेको नेपालगन्जलाई आर्थिक विकासको गतिमा अगाडी बढाउन ‘गेम चेन्जर’ हुने विश्वास मानिएको दिल्ली उडानका लागि निरन्तर समन्वय र दबाब सिर्जना गर्न संघले अग्रसरता देखाएको हो ।
त्यसो त यसअघिनै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको संयोजकत्वमा दिल्ली उडानका लागि पहल गर्न एक कार्यदल नै गठन गरिएको थियो । त्यसले कुनै अपेक्षित कार्यप्रगति भने सार्वजनिक गरेको छैन । ‘तपाईहरु अग्रसर हुनुस्, नेपालगन्ज उपमहानगरपालिकाले के निर्णय लिनुपर्छ तयार छ,’ बुधवार संघले गरेको समन्वय बैठकमा कार्यपालिका सदस्य बसन्त कनोजियाले भने ।
संघका अध्यक्ष टंक धामीले पछिल्लो पहलकदमीमा नेपाल–भारत मैत्री संगठन अन्तर्राष्ट्रियसँग समन्वय गरिएकाले सकारात्मक परिणाम आउनेमा आशा गरिएको बताए । ‘हामी यसका लागि सबैलाई जोडेर अगाडी बढ्छौं, संघ अब रोकिंदैन,’ अध्यक्ष धामीले जनप्रतिनिधिहरुले चासो नदिएको र बोलाउँदासमेत नआएको गुनासो गर्दै भने ।
केही दिनअघिमात्रै नेपाल–भारत मैत्री संगठन अन्तर्राष्ट्रियसँगको समन्वयमा संघले भारत सरकारको उडयन मन्त्रालयलाई त्यसबारे पत्राचार गरेको र सकारात्मक जवाफको विश्वास रहेको अध्यक्ष धामीको भनाइ छ ।
‘त्यसमा भारतीय संस्थापनका प्रतिनिधिहरुसँग हामीले सघन संवाद गरिरहेका छौं,’ नेपाल–भारत मैत्री संगठन अन्तर्राष्ट्रियका सदस्य आशिष कुमार गुप्तले छलफलमा भने, ‘नेपाली पक्षबाट गर्नसक्ने र गर्नुपर्ने काम गरियो भने उडानको सम्भावना बलियो छ ।’ उनले त्यसका लागि पहल लिन नेपालगन्जले गतिलो नेतृत्व नपाएको टिप्पणी गरे ।
क्षेत्रीय अन्तर्राष्ट्रियस्तरमा नेपालगन्ज विमानस्थलको स्तरोन्नति कार्य अगाडि बढिरहेको छ । टर्मिनल भवन विस्तार लगायतका कार्यहरू भइरहेका छन्, जसले अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पूर्वाधार तयार भइरहेको छ भन्ने प्रमाणित पनि गरिरहेको अवस्थामा दिल्ली उडानलाई प्राथमिकतामा राखिनुपर्ने
बैठकमा सहभागीहरुको भनाइ थियो ।
दिल्लीसँगै चण्डीगढ, बैंगलोर, राजस्थान लगायतका अन्य भारतीय सहरहरूमा पनि नेपालगन्जबाट हवाई सेवा जोड्न पहल गरिनु आवश्यक रहेको माग गरिंदै आएको छ ।
बैठकमा सहभागी खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले सबै पालिका, सांसदहरुलाई एक ठाउँमा राखेर दबाब बढाउन आवश्यक रहेको बताए । उनले तीनै तहका सरकारलाई यसको चासो र महत्वका आधारमा दबाब दिनुपर्नेमा जोड दिए ।
‘सरकारले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ,’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले अहिलेसम्म भइरहेका विभिन्न पहलकदमीहरुको फहरिस्त राख्दै भने, ‘हामीले निरन्तर दबाब बनाइराख्नुपर्छ ।’ नेपालगन्ज दिल्ली उडानले पश्चिम नेपालको आर्थिक विकासमा योगदान दिन सक्ने औल्याउँदै सिग्देलले विमानस्थल बनाएरमात्रै नहुने बताए ।
‘नेपालगन्ज–दिल्ली उडानले पश्चिम नेपालको आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने निश्चित छ,’ नाट्टा अध्यक्ष सिग्देलले भने, ‘त्यसो गर्न सकिएन भने, पोखरा र भैरहवाजस्तै नेपालगन्जन विमानस्थलले विद्युत महसुल पनि तिर्न नसक्ने अवस्था आउन सक्छ ।’
विगतमा पनि दिल्ली उडानको पहल गरिए पनि भारतीय पक्षबाट अनुमति नपाउँदा अभियान रोकिएको थियो ।
‘यसपटक भने सबै सरोकारवालाहरूको साझा प्रयास र निरन्तर दबाबले यो अभियानले सार्थकता पाउने अपेक्षा गरिएको,’ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्यले भने । उनले आफ्नै कार्यकालमा पनि संघले गरेको पहलकदमीबारे जानकारी दिंदै त्यसको निरन्तरता आवश्यक रहेको बताए ।
होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष रंगबहादुर खड्काले दलहरुको इच्छाशक्तिमा विकासको सम्भावना रहेको बताए । ‘भारत सरकारले त्यत्तिकै दिंदैन, सरकार लाग्नुपर्छ,’ अध्यक्ष खड्काले भने, ‘त्यसका लागि स्थानीयस्तरमा राजनीतिक दलहरु एकै ठाउँमा बसेर यो काममा लाग्नुपर्छ ।’
‘हामी त्यसका लागि तयार छौं,’ सबै राजनीतिक दल, तीनै तहका जनप्रतिनिधिलाई राखेर छिट्टै भेला आयोजना गरिने जानकारी दिंदै नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम बहादुर रानाभाटले भने, ‘यो दबाबलाई अभियानकै रुपमा अगाडी बढाइने छ ।’
नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यका साथ २० वर्षे गुरुयोजनामा निरन्तर काम भइरहेको छ । चार चरणमा १२ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी गरेर गुरुयोजनाका काम भइरहेका छन् ।
करिब आठ हजार वर्गफिटमा नयाँ अत्याधुनिक टर्मिनल भवन निर्माण अन्तिममा पुगेको छ । यो भवन आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमन कार्यालयसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका उडानका लागि तयार भइरहेको छ ।
ठूला जहाज अटाउने पार्किङ–वे निर्माण भइरहेको छ । विमानस्थल अधिकारीका अनुसार, हाल दुईवटा मात्र एटीआर ७२ ठूला जहाज पार्किङ गर्न सकिन्छ, तर नयाँ निर्माणपछि आठ ठूला जहाजसम्म पार्किङ गर्न सकिने क्षमताको हुनेछ ।