सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ ।
सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवद्र्धन गर्नु हो ।
विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ । राष्ट्रसङ्घको अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ ।
सुविधा खोज्दै सहर तर्फ बसाईसराई
नेपालमा आन्तरिक बसाईसराई पछिल्लो दशकमा निकै बढेको छ । राष्ट्रिय जनगणना, २०७८ ले हालसम्मको आन्तरिक बसाइँसराइको दर अर्थात् नेपालभित्र आफ्नो जन्मस्थान छोडी बसाइँ सर्नेको अनुपात २९.२ प्रतिशत देखाएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, सबैभन्दा बढी हालसम्मको आन्तरिक बसाईसराई गर्ने अर्थात् जन्मस्थान छोड्ने जनसङ्ख्या पहाडमा देखिएको छ जहाँबाट ३२ प्रतिशत मानिसहरू सरेको देखिएको छ । यसपछि तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत सरको देखिएको छ । आन्तरिक बसाईसराई गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला छन् र पुरूषको सो दर २०.६ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार, तराईमा बसाई सर्ने सङ्ख्या सबैभन्दा बढी अर्थात् वि.स. २०२८ मा ४ लाख १० हजार ०६४ बाट वि.सं. २०७८ मा २० लाख ८४ हजार ५ सय ५ जना पुगेको देखिएको छ ।
हिमाली क्षेत्रमा बसाईसरी जाने वि.सं. २०२८ मा ९ हजार ६ सय ९८ र २०७८ मा ७५ हजार ५ सय ४२ देखिएको छ । तर, हिमाली क्षेत्रबाट अन्यत्र सरी जाने सङ्ख्या अत्यधिक देखिएकोले खुद बसाईसराई ५ लाख ४३ हजार ९ सय ६६ ले ऋणात्मक देखिएको छ । यसरी हिमाली क्षेत्रमा बसाईसरी आउनेभन्दा त्यस क्षेत्रबाट अन्यत्र सरेर जाने अधिक छ ।
पहाडी क्षेत्रमा वि.सं. २०२८ मा ६ प्रतिशतले बसाइँसराइ गरेको देखिएकोमा २०७८ मा ३० प्रतिशत देखिएको छ जुन अंक वास्तवमा पहाडी क्षेत्रको काठमाडौँ, पोखरा र चितवनमा सरी जानेका संख्याले प्रभावित भएको हो ।
‘हिमाली क्षेत्रमा जनसंख्या पातलिँदै गएको र पहाडी क्षेत्रमा पनि विशेषतः काठमाण्डौँ उपत्यका, चितवन, पोखरा लगायतका मुख्य सहरहरू बाहेक अन्यत्र जनसङ्ख्या तीब्र रूपले कमी आएको र तराईतिर झर्ने क्रममा वृद्धि भएको देखिएको छ’, तथ्यांक कार्यालयले भनेको छ, ‘यद्यपि, पछिल्लो गणनाले तराईमा बसाइँ सर्ने प्रवृत्तिमा कमी आएको छ । वस्तुतः पहाडी क्षेत्रमा यातायातको पहुँच वृद्धि भए पनि नजिकको अर्धसहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो छ र तराईबाट पनि काठमाडौँ, पोखरा लगायतका सहरी क्षेत्रमा बसाइँ सर्ने प्रवृत्ति बढ्दो गतिमा छ ।’
प्रदेश अनुसारको आन्तरिक बसाईसराइको आयतनलाई अध्ययन गर्दा वि.सं. २०७८ मा कुल २१ लाख ४२ हजार ३ सय ६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाईसराई गरकोे देखिएको छ । यसमा महिला ११ लाख ५४ हजार ९ सय ९ र पुरूष ९ लाख ८७ हजार ४ सय ५४ रहेका छन् ।
तथ्यांक कार्यालयका अनुसार, अन्तरजिल्ला बसाईसराईंको तथ्याङ्क विश्लेषण गर्दा २०७८ मा मूलथलोका २० प्रतिशतले स्थायी आन्तरिक बसाईसराई गरेको देखिएको छ । वि.सं. २०१८ मा यो मान ४.७ प्रतिशत मात्रै थियो । देशका ७७ वटै जिल्लाको तुलनात्मक विश्लेषण गर्दा १८ वटा जिल्लाहरूले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत
जनसंख्या गुमाएको देखिन्छ । कुनै पनि जिल्लाबाट बाहिर बसाईसराइ नगरेको भन्ने स्थिति छैन । तर, बाँके सहित १२ जिल्लामा दश प्रतिशतभन्दा कम अन्यत्र जिल्लामा बसाईसराइ गरी गएको तथ्यांकले देखाउँछ ।
जिल्लागत हेर्दा सबैभन्दा कम बसाईसराई भएका १२ जिल्लामा पर्सा, रौतहट, नवलपरासी पूर्व÷पश्चिम, भक्तपुर, ललितपुर, कञ्चनपुर, काठमाडौं, कैलाली, रूपन्देही, बाँके र कपिलवस्तु छन् । यी जिल्लामा १० प्रतिशतभन्दा कम मानिस जिल्ला छाडेर अन्यन्त्र सरेको पाइएको छ ।
किन बढिरहेको छ बसाईंसराईं ?
कार्यालयका अनुसार २५.९ प्रतिशत मानिस आफन्तसँग आश्रित भएर बसाईंसर्ने गरेको पाइएको छ । विवाहपछि बसाईं सर्नुपर्ने बाध्यतामा २४.९ प्रतिशत जनसंख्या रहेको देखिन्छ । कामको अवसरका कारण १९.२ प्रतिशत, अध्ययन र तालिमका कारण १४.१ प्रतिशत मानिस बसाईंसराई गरेको देखिन्छ ।
प्रदेशगत विश्लेषण गर्दा बागमती र गण्डकीमा कामको अवसरका कारण धेरै मानिस बसाईसराई गरेको पाइएको छ । अन्य प्रदेशमा भने विवाह मुख्य कारण मानिएको छ ।
उमेर अनुसार हेर्दा चार वर्षमुनि र ७५ वर्षभन्दा माथिका व्यक्ति आश्रित भएर, २० देखि २४ वर्षका महिला विवाहका कारण र ३५ देखि ३९ वर्ष उमेर समुहका धेरै मानिस कामका कारण बसाईं सरेको पाइन्छ ।
बाँके जिल्लाको जनसंख्या ६ लाख नाघेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार बाँकेको कुल जनसंख्या ६ लाख ३ हजार १ सय ९४ पुगेको हो । त्यसको १० वर्ष अघि गरिएको जनगणनामा बाँकेकोे जनसंख्या ४ लाख ९१ हजार तीन सय १३ रहेको थियो । जनसंख्या बृद्धिदरमा बाँके चौथो नम्बरमा छ । जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर १.९७ रहेको छ । देशमा सबैभन्दा बढी जनसंख्या बृद्धिदर भने भक्तपुरको छ । भक्तपुरको वार्षिक जनसंख्या बृद्धिदर ३.३२ छ । त्यसपछि रूपन्देहीको २.३ र चितवनको २.१ रहेको छ ।