बाँकेमा सोमबार साँझ आएको हावाहुरीका विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले विभिन्न ठाउँका विद्युत पोलहरू ढाल्दा क्षति पुगेको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।
मुख्य प्रसारण लाइन र सहायक प्रसारण लाइनहरूमा क्षति पुगेको विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जानकारी दिएको छ ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्ज प्रमुख राजिव सिंहले हावाहुरीले भएको क्षति एकिन गरिरहेको बताए । ‘विभिन्न ठाउँमा क्षति भएको छ, विवरण संकलन भैरहेको छ, भोलि मात्र नोक्सान एकिन हुन्छ’, उनले भने । उनले बाँके, बर्दियाका विभिन्न ठाउँमा विद्युत पोलमा क्षति पुगेको विवरण आइरहेको जानकारी दिए ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले हावाहुरी र पानीका कारण प्राय जसो सबै स्थानहरूमा वितरण तथा प्रसारण लाइनको पोल र तारमा क्षति पुगेको बताएको छ । प्राधिकरणले क्षतिको विवरण संकलन गरिरहेको जानकारी दिंदै एकिन तथ्यांक आउन बाँकी रहेको उल्लेख गरेको छ ।
‘सयौं थान बढी पोल ढलेको र दर्जनौ स्थानमा तारहरू चुडिएको अवस्थामा बिधुत रिस्टोर गर्न समय लाग्ने देखिएकोले ग्रहक बर्गमा धैर्य गरि बसिदिन हुन अनुरोध छ’, नेपालगन्ज वितरण केन्द्रले समस्याबारे जानकारी दिंदै भनेको छ, ‘यसबाट पर्न गएको असुबिधा प्रति नेबिप्रा नेपालगन्ज बितरण केन्द्र क्षमा प्रार्थी छ ।’