सोमबार आएको तिव्र गतिको हावाहुरीले बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्ममा ठुलो नोक्सान पुगाएको छ ।
भौतिक संरचनामा धेरै क्षति पुगेको कुखुरा विकास फार्मले जानकारी दिएको छ । कालिज राख्ने कोठाको छाना, कालिज घुम्न बनाइएको ओपन यार्ड च्यातिएको र केहि कालिजहरु भागेका छन । कार्यालय भवन नजिक रहेको आपको रुख ढल्दा छेउमै रहेको ग्यारेज कोठामा रहेको बाइक र स्कुटरमा क्षति पुगेको फार्म प्रवन्धक डा. सुमन खनालले जानकारी दिए । दुई वटा खोरको छाना हावाहुरीले उडाउँदा १०÷१२ लाखको नोक्सानी भएको फार्मले जनाएको छ । यस वर्षका लागि प्यारेनका लागि भनेर हुर्काइएका ७ हजार कुखुरा मध्य हावाहुरीबाट तर्सिएर र विद्युत आपुर्ति बन्द हुदा दुई सय कुखुरा मरेको डा. खनालले जनाए ।
सोमबार हावाहुरी आएको बेला करिव ३,४ घण्टा विद्युत आपुर्ति गर्न नसक्दा ह्याचरी भित्र रहेका अण्डाबाट चल्ला उत्पादन नहुने हो कि भन्ने शंखा उत्पन्न भएको फार्मले जनाएको छ । अहिले फार्ममा विद्युतको आपुर्ति भने गरिएको र कुखुरा चल्लाहरुको अवस्था राम्रो हुदै गएको छ । खजुरामा रहेको कुखुरा विकास फार्म लुम्बिनी प्रदेश अन्तरर्गतको एक मात्र सरकारी फार्म हो । फार्मले वर्षेनि लाखौ चल्ला र अण्डा उत्पादन गर्दै आइरहेको छ ।