जिउँदो कुखुरा ल्याउन सहज नभएपछि भारतबाट अवैध रूपमा कुखुराको मासु तस्करी गरेर ल्याउन थालिएको खुलेको छ । बाँकेमा खुला सीमाका कारण विभिन्न मालसामान तथा खाद्य वस्तुहरू तस्करी भएर भित्रिने गरेको छ । ठाउँठाउँमा चेकिङ्ग र खुला सीमानामा निगरानीका वावजुद नेपालगन्ज तथा आसपासका स्थानीय तहमा भन्सार छलेर भित्रिसकेका मालसामान प्रहरीले बरामद गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ का समिर कुरेशीले भारतबाट ल्याउँदै गरेको ब्रोइलर कुखुराको १ सय ४० केजी मासु बरामद गरेको जानकारी दिएको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट भन्सार छली गरेर ल्याएको कुर्ता सुरुवाल २७ पिस पनि बरामद भएको जानकारी दिएको छ ।
प्रहरीले मासु फेला पारी मानिस सहित आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन नेपालगन्ज बाँके र मालसामान भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाएको जानकारी दिएको छ ।