समुदाय स्तरकै लगानी बाट पेपर मील सञ्चालन गर्ने महत्वाकांक्षी योजना सहित एक्सिलेन्ट पेपर मील कम्पनी पब्लिक कम्पनी लिमिटेडमा परिणत भएको छ । प्राइभेट लिमिटेडका रूपमा पेपर मील कम्पनी पब्लिकमा रूपान्तरण गरिएको जानकारी दिंदै कम्पनीका अध्यक्ष ज्योतिलाल भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘हामी कम्पनी रजिष्टारको कार्यालयबाट पब्लिक लिमिटेडको दर्ता प्रमाणपत्र प्राप्त गरेका छौं ।’
आफै श्रमिक, आफै मालिक भन्ने नाराका साथ स्थानीय समुदायलाई संगठित गर्दै अगाडि बढेको एक्सिलेन्टले सानै लगानीमा भएपनि कागज उत्पादन सुरु गरिसकेको छ ।
‘बाँकेमा पेपर मील स्थापनाका लागि सरकार र सरोकारवाला निकायहरूलाई गुहारिरहँदा पनि सुनुवाई नभएपछि हामी आफै सानो स्केलमा कागज उत्पादन सुरु गरिसकेका छौं’, कागज उत्पादनको सफल परीक्षणपछि बजार पठाउने तयारी भैरहँदा प्राइभेटबाट पब्लिक लिमिटेडमा कम्पनी लगिएको जानकारी दिंदै अध्यक्ष भण्डारीले भने ।
तत्काल २६ करोडको जारी पूँजीबाट कागज उत्पादनसम्मको योजना कार्यान्वयन एक्सिलेन्टले पाँच सय करोडबढी लगानीको पल्प उत्पादनदेखि पेपर मील सञ्चालनसम्मको योजनालाई प्रस्तुत गरिरहेको छ । समुदायलाई संगठित गर्दै अगाडि बढेका सञ्चालकहरू स्थानीय उत्पादनका लागि सरकारी सहयोगको अपेक्षा पनि गरिरहेको अध्यक्ष भण्डारीको भनाइ छ ।