१. रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षामन्त्रालय अन्तर्गतका निकायले सञ्चालन गरेका विकास–निर्माणका परियोजनामा लक्ष्यअनुसारको प्रगति प्राप्तिका लागि थप मेहनत गर्न निर्देशन दिएको छ ।
२. नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनको वातावरण अझै नबनेको बताएको छ । धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका नेता दीर्घबहादुर सोडारी नेतृत्वको प्रदेश सरकारमा आफूहरु सहभागी हुने वातवरण बन्न नसकेको बताए ।
३. प्रतिनिधिसभाका सांसदहरूले देशका विभिन्न जिल्लामा भएको ‘लोडसेडिङ’बारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले तराईका जिल्लामा गर्मी बढ्दै गर्दा विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
४. अध्यागमन विभागसहित विभाग अन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो ।
५. लुम्बिनी प्रदेश सरकारले आव २०८१÷८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम सार्वजनिक गर्दै कृषिलाई प्राथमिकता दिएको बताएका छन् ।
६. बजेट निर्माणको स्वामित्वलाई लिएर सत्तापक्षकै नेता तथा सांसदले असन्तुष्टि पोख्न थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेससहित विपक्षी दल र सत्ताका मुख्य चार घटकमध्ये एमालेले समेत बजेटको विरोध गरेको छ ।
७. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भनी गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
८. सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम परियोजना कार्यान्वयन थालेको ६ वर्ष पुगेको छ । तर, यस अवधिमा मात्र १२० स्थानीय तहमा मात्र औद्योगिक ग्राम घोषणा भएको छ । यसले सरकारको घोषणा बमोजिम स्थानीय सरकारको चासो र उत्साह बढ्न नसकेको पाइएको छ ।