अच्यूतराज सुवेदी स्मृति प्रतिष्ठानले दैनिक नेपालगन्जका तत्कालीन प्रबन्ध निर्देशक अच्यूतराज सुवेदीको स्मृतिमा मंगलबार विभिन्न कार्यक्रमको आयोजना गर्यो ।
प्रतिष्ठानका प्रतिनिधि माला शर्माका अनुसार, प्रतिष्ठानले नेपालगन्जमा रक्तदान र कोहलपुरमा गर्मीबाट आहत भएकाहरूलाई मिठाई पानी खुवाएको हो ।
नेपालगन्ज स्थित रक्तदान केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा राजिव शर्मा, केशव गिरी, मोहन खड्का, रविन्द्र कटुवाल, श्याम रिजाल लगायत ३० जनाले रक्तदान गरेका छन् ।
सुधिर गौतमको नेतृत्वमा गरिएको रक्तदानमा विभिन्न युवा उद्यमीहरूको सहभागिता थियो । कोहलपुरमा माला शर्माको अगुवाईमा झण्डै एक हजार जना यात्रुहरूलाई मिठाई पानी खुवाइएको आयोजकले जनाएको छ ।
२०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पमा गम्भीर घाइते युवा उद्यमी अच्यूतको उपचारका क्रममा जेठ २९ गते निधन भएको थियो । सुवेदी परिवार र दैनिक नेपालगन्जको पहलमा स्थापना गरिएको प्रतिष्ठानले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ ।