विभाजनको पीडा खेपेको जनता समाजवादी पार्टी नेपालको एकता महाधिवेशन जनकपुरमा नेतृत्व चयन प्रक्रियामा पुगेको छ । बाँकेबाट जिल्ला अध्यक्ष कमरुद्दिन राईको नेतृत्वमा जनकपुर पुगेका ३१ सदस्यीय प्रतिनिधिमण्डलमा केन्द्रीय समितिको दाबेदारी गर्नेहरूको संख्या पनि उल्लेख्य रहेको सम्बद्ध पार्टी नेताले जानकारी दिए ।
‘सकेसम्म सर्वसम्मत नेतृत्व टुंग्याउने मनशाय भएकाले को–को हुनसक्छन् भन्न सकिंदैन’, जसपा बाँकेका अध्यक्ष राईले दैनिक नेपालगन्जसँग भने, ‘निर्वाचन प्रक्रियामा मतदान हुने अवस्था भयो भने आपसी सहमतिमा उम्मेदवार टुंगो लगाइने छ ।’
बाँकेबाट केन्द्रीय सदस्यमा ७ जना र एकजनाले पदाधिकारीका लागि दाबी पेश गरेको सम्बद्ध स्रोतले जनाएको छ । त्यसका लागि कमरुद्दिन राई, राजन रानामगर, श्रवण यादव, अम्बिका काफ्ले, रामकुमार यादव, बाबु खाँ पठान लगायतका दाबेदारहरूको टोलीले आफु मध्येबाट कम भन्दा कम नामको सूचि बनाएर केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समक्ष पेश गर्ने पहल भैरहेको बताइएको छ ।
बाँकेमा जसपा विभाजनका क्रममा मो. इस्तियाक राईका पक्षमा बलियो कार्यकर्ता पंक्ति देखिएपनि क्रमशः त्यो क्रम घट्दै कमरुद्दिन नेतृत्वको जिल्ला कमिटि बलियो हुँदै गएको दाबी गरिन्छ । ‘अहिले आधा बढी हामीसँगै हुनुहुन्छ’, अध्यक्ष राईले भने ।
जसपा नगर कमिटि सचिव अजय बर्माले निर्वाचन ताका पार्टी प्रवेश गर्नेहरू बाहेक बाँकी मूल पार्टीमै रहेको दाबी गरे । ‘निर्वाचनका क्रममा पार्टी प्रवेश गर्नेहरू मन्त्रीजीसँगै जानुभयो’, बर्माले दैनिक नेपालगन्जसँग भने, ‘अरू सबै मूल पार्टीमै हुनुहुन्छ ।’
भण्डारीलाल यादव, आदेश अग्रवाल सहितका केही नामबाहेक अधिकांस यादव नेतृत्वको जसपामै रहेको र इस्तियाक राईको साथ कमजोर हुँदै गएको दाबी संस्थापनको छ ।