१. नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा इतिहास रच्ने मौका गुमाएको छ । नेपाल शुक्रबार साँझ सेन्ट भिन्सेन्ट स्थित आर्नोस भेल मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको हो ।
२. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार पार्टीको संसदीय दलको बैठकमा बोल्दै आफू नेतृत्वको सरकारको समयमा भन्दा अहिले गरिबी बढेको बताएका छन् । तीन वर्षअघिको सरकारले गरिबीको रेखामुनि रहेकाहरुको संख्या १७ प्रतिशतमा झारेकामा अहिले बढेर २०.२६ प्रतिशत पुगेको उनले बताएका हुन् ।
३. धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीका १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
४. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ । यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा ।’
५. महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरमा अवस्थित एभरेष्ट सुगर मिलबाट उखु किसानले रु एक अर्ब ६१ करोड १० लाख ६३ हजार भुक्तानी लिएका छन् । एभरेष्ट सुगर मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले १४ हजार पाँच सय किसानलाई उक्त रकम भुक्तानी दिइएको बताएका छन् ।
६. नेकपा एकीकृत समाजवादीले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ । पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने बताए ।
७. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुसन्धान, आविष्कार र नवप्रवर्तनलाई प्रोत्साहन गर्न पहिलोपटक विज्ञान–प्रविधि तथा नवप्रवर्तनसम्बन्धी कानुनको मस्यौदा तयार गरेको छ । मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक सो मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवाला, आम नागरिक र जनप्रतिनिधिलाई आग्रहसमेत गरिएको छ ।
८. बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ । थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।