प्रगतिशील तथा श्रमजीवि पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसर पारेर मंगलबार नेपालगन्जमा ‘सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौती’ बारे अन्तरक्रियात्मक छलफल आयोजना गरिएको छ ।
प्रेस चौतारी नेपाल बाँकेले जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागितामा सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीबारे छलफल आयोजना गरि प्रेस चौतारी दिवस मनाएको सचिव देबेन्द्र राज पौडेलले जानकारी दिएका छन् ।
प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले सामाजिक सञ्जालले पत्रकारितामा ल्याएको अवसर र चुनौतीका विषयमा आधारपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जालको सदुपयोग गर्न आवश्यक रहेको बताए । उनले मिडिया साक्षरतामा जोड दिंदै को पत्रकार हो ? को होइन भन्ने बारे आफ्ना प्रस्तुति राखेका
थिए ।
‘उपभोक्तामा उस्तै बुझाइ भइरहेको सामाजिक सञ्जाल र मिडिया दुवै सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भए पनि यी दुईको प्रकृति, उद्देश्य र कार्यप्रणालीमा महत्वपूर्ण भिन्नता रहेका हुन्छन्’, पत्रकार गैरेले प्रेस चौतारी नेपाल बाँकेको कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै भने, ‘जुन भिन्नता बुझाउन यसखालका कार्यक्रमको भूमिका महत्वपूर्ण हुन्छ, जसले सञ्चार उपभोक्तालाई ‘साक्षर’ बनाउँछ । त्यसका लागि पनि मिडिया साक्षरता आवश्यक छ ।’
प्रस्तुतिमा आफ्ना धारणा राख्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरीले सामाजिक सञ्जाल र मिडियाबारेको अन्तर बुझाउन महासंघले पत्रकारहरूबीचनै ‘साक्षरता आवश्यक रहेकाले’ त्यसखालको कार्यक्रम गरिने प्रतिबद्धता जनाए ।
प्रेस चौतारीका केन्द्रीय सदस्य भेषराज बस्नेत, फोनिज लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ्ग, वरिष्ठ पत्रकार निरज गौतम, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, डब्लुडब्लुजेका अध्यक्ष सावित्री गिरी, पत्रकारहरू समीरमान श्रेष्ठ, पत्रकार विपी अस्तु, मधु पौडेल लगायतले कार्यक्रममा सामाजिक सञ्जालले
पत्रकारितामा ल्याएको
अवसर र चुनौती बारे धारणा राखेका थिए ।
कार्यक्रमका नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन हलवाईले राजनीति भन्दा माथि उठेर काम गर्न पत्रकारहरूलाई सुझाव दिंदै सामाजिक सञ्जालको दुरूपयोग रोक्न कानुनको खाँचो औल्याए । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहेका हलवाईले पत्रकारिताका नाममा भइरहेको विकृति
रोक्न पनि प्रेस चौतारी नेपाल जस्ता संगठनहरू सशक्त हुनुपर्ने
बताए ।
प्रेस चौतारी बाँकेका उपाध्यक्ष रामु ओलीले स्वागत मन्तव्य र सचिव देबेन्द्र राज पौडेलले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले प्रचार विभाग प्रमुख निर्मला सुनार, एमाले बाँके मोर्चा संयन्त्र प्रमुख किशोर थापाले प्रविधिमा भइरहेको विकासमा पत्रकारहरूको भूमिका र आवश्यकताबारे आफ्ना धारणा राखेका थिए ।
स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा बीच रेशम विरही सिर्जनशील पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार पूर्णलाल चुके र क्रियाशिल पत्रकार पुरस्कार कृष्ण चौधरीलाई प्रदान गरिएको थियो ।