आजदेखि ‘आदर्श स्पोर्टस् वीक’

विद्यार्थीहरूलाई खेलकुदमा प्रेरित गर्दै आएको नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालयले आज बुधबार देखि ’स्पोर्ट्स वीक’ गर्दैछ । सहायक प्राचार्य टंक गौतमका अनुसार, विद्यालयको बार्षिक खेलकुद कार्यक्रम अन्तर्गत माघ ३ गतेदेखि ५ गतेसम्म ’स्पोर्ट्स विक’ आयोजना गर्न लागिएको हो ।
विद्यालयका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा खेलकुदका कार्यक्रम हुनेछन् ।
लंगजम्प, खोखो, व्याडमिन्टन, फूटबल, १०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, सांगितिक कुर्सी दौड, पिरामिड दौड लगायतका इभेन्ट ’स्पोर्ट्स विक’मा समावेश गरिएको गौतमले जानकारी दिए । पुरुष शिक्षकहरूका लागि फुटबल र महिला शिक्षकका लागि सांगितिक कुर्सी दौड पनि राखिएको छ ।
‘शिक्षण सिकाई क्रियाकलापसंगै जीवन विकासको महत्वपूर्ण पक्ष मानिने खेलकुदमा विद्यार्थी भाइबहिनीहरूलाई प्रोत्साहन गर्दै आएका छौं,’ सहायक प्राचार्य गौतमले आयोजना बारे दैनिक नेपालगन्जसँग भने, ‘यसले उनीहरूमा रहेको खेलजन्य प्रतिभा प्रस्फुटनमा यस्ता क्रियाकलापले सघाउ पुर्याउने हाम्रो विश्वास हो ।’
पाठ्यक्रममा आधारित नियमित अध्यापनसंगै अतिरिक्त क्रियाकलापहरूमा पनि विद्यार्थीहरूको लगाब प्रबद्र्धन गर्न विद्यालयले बार्षिकरूपमा ’स्पोर्ट्स वीक’ गर्दै आएको सहायक प्राचार्य टंक गौतमले बताए ।
आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष सन्जय थापाले शैक्षिक गुणस्तरसँगै खेलकुदले बाल विकासमा निकै सकारात्मक प्रभाव पार्ने भएकाले यसखालका आयोजनालाई विद्यालयले प्राथमिकतामा राख्दै आएको बताए ।

Exit mobile version