बिहीबार फरार अपराधी समात्न गएको प्रहरी टोलीलाई अवरोध पछि गोली चलाएर प्रहरीले फरार पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले डुडुवा–६ मा डाँका चोरी मुद्दामा ६ वर्ष कैद र १२ हजार जरिवाना तोकिएका सरमानसिंह सरदारलाई पक्राउ गर्न पुग्दा स्थानीयले अवरोध गरेका थिए ।
सरमानसिंहलाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले प्रहरी माथि ढुंगा प्रहार गरेर अवरोध गरेका थिए । स्थानीयको अवरोधका बीच सरमान सिंह हत्कडी सहित फरार भएका थिए । प्रहरीले थप प्रहरी परिचालन गरेर उनलाई पक्राउ गर्न सफल भएको छ ।
झडप बीच प्रहरीको हतियार खोस्ने प्रयास भएको प्रहरीले जानकारी दिएको छ । झडपमा वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन् ।
प्रहरीले हत्कडीसहित भाग्दै गरेका सरमानसिंह र हतियार खोस्न अघि सरेका नानक सिंखलाई गोली हानेर नियन्त्रणमा लिएको छ । सरमानलाई दाया घुडामुनि र नानकलाई दाया खुट्टाको साप्रामा गोली लागेको छ । उनीहरुको भेरी अस्पतालमा उपचार भैरहेको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड गोली चलाएको जानकारी दिएका छन् । उनले अवस्था सामान्य पार्ने प्रयास गरिरहेको बताएका छन् ।