निशु जोशी
विगत तीन वर्षमा मानव बेचविखनको जोखिममा करिब १ हजार ४ सय जनालाई बाँकेको सिमाक्षेत्रबाट उद्दार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गतवर्ष मात्र ८ सय ९२ जनालाई सिमा नाकाबाट उद्दार गरिएको हो । आर्थिक वर्ष २०७९÷०८० मा ३ सय १२ जना र आर्थिक वर्ष २०७८÷७९ मा १ सय ८९ जनालाई उद्दार गरिएको थियो ।
तथ्यांकले हरेक वर्ष बेचविखनको जोखिममा पर्नेहरूको संख्या बढ्दै गएको देखाउँछ । प्रविधिको विकाससंगै मानव तस्करहरूले परम्परागत तरिका फेरेका छन् । अहिले विदेशमा धेरै कमाउने चाहानामा आफन्त र विश्वास गरेका मानीसहरूबाटै बेचविखनमा पर्ने गरेको सम्वद्ध सरोकारवालाहरू बताउँछन् ।
जिल्लामा विगत ३ वर्षको अवधिमा ५४ जना बेचविखनमा परेका छन् । मानव बेचविखनका विरुद्धको अन्र्तराष्ट्रिय दिवसका अवसरमा मंगलबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक शिवा थापाले आर्थिक वर्ष २०७८÷०७९ मा २१, आर्थिक वर्ष २०७९÷०८० मा १९ र आर्थिक वर्ष २०८०÷०८१ मा १४ जना बेचविखनका पीडित रहेको बताइन् । मुद्दा दर्ता संख्या विगत तीन वर्षमा ४३ रहेको छ । यस्तै बाँके जिल्लामा गतवर्ष ४ सय ७७ जना हराएको निवेदन परेकोमा २ सय ९१ जना मात्र फेला परेका छन् ।