बाँकेको डुडुवा गाउँपालिकाको १५ औं गाउँसभा स्थगित भएको छ । बाँकेमा डुडुवा गाउँपालिकाले निर्धारित समयमा यसअघि पनि पटकपटक गाउँसभा गर्न सकेको थिएन ।
डुडुवा गाउँपालिकाले बिहीबारका लागि गाउँसभा आव्हान गरेको थियो । तर, सभामा गणपुरक संख्यामा जनप्रतिनिधि उपस्थित नै भएनन् । पालिका अध्यक्षले मनपरी गरिरहेको भन्दै जनप्रतिनिधिले नै गाउँसभा बहिष्कार गरेपछि सूचना टाँसेर गाउँसभा स्थगित भएको थियो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्वारा आव्हान गरिएको गाउँसभा बैठकमा गणपुरक सदस्यहरूको संख्या नपुगेपछि सूचना टाँस गरि स्थागित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गिरबहादुर सेजुवालले बताएका छन् । गाउँसभाको अब कहिले हुने भन्ने निश्चित गरिएको छैन । प्रमुख प्रशासकीय अधिकृत सेजुवाल अर्को सूचना जारी नभएसम्म बैठक स्थागित भएको बताउँछन् ।
गाउँसभा स्थगित हुँदा त्यसले पारित गर्नुपर्ने विभिन्न कार्यहरू रोकिएका छन् । जनप्रतिनिधि एकमत नहुँदा भएको सभा स्थगितले आगामी दिनमा पालिकामा हुने कार्यहरू समेत प्रभावित हुनसक्ने बताइएको छ ।
जनप्रतिनिधि बीचको विवादले आर्थिक २०७९÷८० को बजेट समेत डुडुवाले पाँच महिना ढिलो गरी ल्याएको थियो । त्यतिबेला कर्मचारीको तलब देखि विकास निर्माणका काम ठप्प भएका थिए ।
डुडुवा गाउँपालिकामा गाउँपालिका एउटा पार्टीको मात्रै कार्यपालिकामा बहुमत पुग्दैन । पालिका अध्यक्षले सबैको साथ लिएर अगाडि बढ्न नसक्दा गाउँसभा निर्धारित समयमा हुन नसकेको हो ।
डुडुवा गाउँपालिकाका जनप्रतिनिधिहरूले पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले गरेको मनोमानी विरुद्ध बिहीबारको गाउँसभा बहिष्कार गरेको बताएका छन् । वडा नं. ५ र ६ का अध्यक्ष, ५ कार्यपालिका सदस्य र १० वडा सदस्यले हस्ताक्षर गरेर पालिका अध्यक्ष विरुद्ध एकजुट भएका हुन् । बैठक बहिष्कार गर्नेमा पालिकामा निर्वाचित नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र नेकपा एमालेका जनप्रतिनिधि रहेका छन् ।
डुडुवा गाउँपालिकाकाको अध्यक्ष पदका लागि दोश्रो पटक निर्वाचत भएका चौधरीले यस अघिका गाउँसभा र कार्यपालिका बैठकमा उपस्थित सदस्यहरूलाई जानकारी नदिनेदेखि निर्णय नै नलेखिएको सादा पानामा हस्ताक्षर गराउने गरेकोे आरोप जनप्रतिनिधिहरूले लगाएका छन् ।
निर्वाचित भएको झण्डै दुईंबर्ष पुग्नै लाग्दा पनि अध्यक्षले योजना बाँडफाँडमा बिभेद गर्दै आएकाले आफूहरू गाउँसभा बहिष्कार गर्न बाध्य भएको जसपा र नेपाली काँगे्रसबाट निर्वाचित सदस्यले जनाएका छन् । उनीहरूका अनुसार गाउँपालिका अध्यक्ष चौधरीले सादापानामा हस्ताक्षर गराउने देखि योजना र खर्चको बिबरण नदिएको जनाएका छन् । उनीहरूले कुनैपनि बजेटको आयब्यय पारदर्शी नरहेको, खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्ना लगायतका बिषयहरूमा भ्रष्टाचार गर्दै आएकाले आगामी दिनमा सुधार नहुँदासम्म पालिकामा हुने कुनैपनि बैठक, सभामा सहभागी नहुने जनाएका हुन् ।
कार्यपालिका बैठक र गाउँसभा सम्बन्धि आफूहरूलाई पूर्व सूचना समेत नदिएर अध्यक्षले गाउँसभा गर्न खोजेको प्रति आफूहरूको आपत्ति रहेको जनप्रतिनिधिले बताएका छन् । गत वर्ष पनि डुडुवा गाउँपालिकाको असार १० भित्र हुने गाउँसभा पुस ४ गते र बिशेष गाउँसभा जेठमा भएको थियो ।