आज २०२४ अगस्ट १२ तारिख अर्थात अन्तर्राष्ट्रिय युवा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाउन लागिएको छ । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरे सँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।
नेपालमा भने युवासँग काम गर्ने संघ संस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा यस वर्ष “दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि ः डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि” भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।
राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालमा १६–४० उमेर समुहलाई युवा मानिन्छ । युवा तथा खेलकुद मन्त्री माननीय तेजुलाल चौधरीको संयोजकत्वमा दिवस मनाउनका लागि मूल समारोह समिति समेत गठन भएको छ । सरकारले यसरी वर्षेनि विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थाल्यो । राष्ट्रिय जनगणना २०७८ अनुसार युवाको जनसंख्या ४२ दशमलव ५६ प्रतिशत पुगेको छ । त्यस्तै प्रतिनिधि सभामा १२ प्रतिशत, प्रदेश तहमा २० प्रतिशत र स्थानीय तहमा ४१ दशमलव १४ प्रतिशत जन प्रतिनिधि युवा छन् । पछिल्लो जन गणनाअनुसार देशमा १९.८ प्रतिशत युवा पूर्ण बेरोजगार छन् भने ३६ प्रतिशत भन्दा बढी युवा अर्ध बेरोजगार छन् र प्रत्येक वर्ष ४ लाख ५० हजार युवा श्रम गर्न सक्षम हुँदै श्रम बजारमा प्रवेश गर्छन् ।
सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो । यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ । साथै राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । यद्यपि अझै पनि युवाका मुद्दा सम्बोधन हुन सकिरहेको छैन ।
युवाको विकासका लागि लक्षित गरी बनेका ऐन र नीति कार्यान्वयन हुन नसकेको देखिन्छ । युवा लक्षित नीति कार्यान्वयनमा सरकारी निकायले प्रभावकारी कार्यान्वयन गर्न नसक्दा युवामा मुद्दा जस्ताको त्यस्तै रहेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा रोजगारीका लागि विदेश जानेको संख्या ७ लाख ७१ हजार ३२७ जना थियो । युवा सशक्तीकरण, आत्मनिर्भर र स्वरोजगार बनाउन राज्यले जुन मात्रामा प्रथामिकता दिनुपर्ने हो त्यो अझै पुग्न सकेको छैन । युवालाई राज्यले प्राथमिकतामा राख्न नसकेको देखिन्छ । युवाका क्षेत्रमा माग गरिएका संरचना र कानून बनेपनि योजना कार्यान्वयनमा समस्या रहदाँ समस्याहरु झन बढकरार भएको छन् । नेपालमा युवा विकासका लागि नीतिगत तथा संस्थागत व्यवस्था हुदैँ नभएको पनि होइन् तर कार्यान्वय पक्ष प्रभावकारी नहुदाँ समस्या बढिरहेको देखिन्छ । नेपालमा लगानी मैत्री वातावरण नहुनु, पर्याप्त र जीवनमुखी रोजगारीको अवसर सिर्जना नहुनु र राजनीतिक अस्थिरता नटुंगिनुले देशको अवस्था बदलिने र सर्वसाधारण नागरिकको जीवनस्तर सुध्रने विश्वास हराउदा आज युवा वर्गमा वैदेशिक रोजगारीमा आकर्षण बढेको हो । थोरैका लागि मात्रै वैदेशिक रोजगारी रहर हुनसक्छ, धेरैको लागि त यो बाध्यता नै हो । सरकारले युवा पलायनको प्रवृत्ति, कारण र चुनौति तथा असरको पहिचान गरी समस्याको समाधान गर्न अव अग्रसर रहनुपर्ने देखिन्छ । युवा मैत्री वातावरण सिर्जना गरी देशमै अवसरको सिर्जना गरी विदेश पलायन युवा जनशक्तिलाई देशमै रोजगार केन्द्रित गर्नु सरकारले प्रभावकारी भुमिका खेल्नु पर्ने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहु विदेश पलायन हुने युवाको संख्याको बृद्धिले नेपालमा युवामैत्री वातावरण विकास नभएको सहजै अनुमान गर्ने सकिन्छ । युवा पलायनले भित्रिएको रेमिटेन्सले आज देशमा योजना निर्माण हुदै छ भन्दा सायद आश्चर्य नहोला । साच्चै युवा अपनत्व देशमा भाषणमा मात्र सिमित देखिन्छ । राज्यले युवामैत्री गतिविधि र कार्यक्रम ल्याएर युवालाई परिवर्तन र राष्ट्रिय पुँजी निर्माणको रुपमा अगाडी बढाएर लैजान सक्नुपर्ने वर्तमान अवस्था देखिन्छ । जोस, जाँगर, सिर्जनशीलता र क्रान्तिकारीताले भरीपूर्ण युवा अवस्थालाई उद्यम र स्वरोजगारका कार्यक्रममा राज्यले जोड्न सक्नुपर्दछ । युवालाई नीति निर्माणको तहमा र्पुयाउन नसक्दा अपेक्षाकृत सफलता हासिल हुन नसकेको हो भन्दा पक्कै सार्थकता रहला । युवामैत्री राजनीतिक दलको संरचना बनाएर युवालाई नीति निर्माणको तहमा पुर्याेउन वर्तमानमा आवश्यक छ । संघ, प्रदेश र स्थानीय तह तीनवटै सरकारले समन्वय गरेर युवालाई उद्यमशिलतातर्फ लैजानु पर्दछ त्यसका लागि सहुलितयपूर्ण कर्जा र वित्तीयरुपमा साक्षर बनाउन आवश्यक छ । युवालाई उद्यमशिलता तर्फ लैजानका लागि सबै प्रदेशमा नवप्रवर्तन तथा इनोभेसन सेन्टर स्थापना गरी छरिएका युवा वर्गलाई लक्षित कार्यक्रम मार्फत एकीकृत ढङ्गले लैजान आवश्यक छ ।
युवावस्था आउँछ तर जीवनमा एक पटक मात्रै । एकपटक मात्रै आउने समयलाई हाम्रो समाजले, नेतृत्वले सकारात्मक मार्गमा लाग्ने उपयुक्त वातावरण किन नबनाउने त ? युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकको रुपमा विकसित हुने अवसर राज्यले सिर्जना गर्नुपर्दछ । हरेक देशमा भएका आर्थिक, सामाजिक, राजनीतिक परिवर्तनमा युवा शक्तिको निर्णायक सहभागिताका कारण परिवर्तन संभव भएको हो भन्ने कुरा नेतृत्वले भुल्नु हुदैन् । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नका लागि अब ढिलो गर्नु हुदैन्, विगतका अनुभव र अनुभूतिले त्यही भन्छ । हरेक क्षेत्रमा रहेका युवा वर्गहरू स्वयम् आफु पनि आफ्नो क्षेत्रमा परिवर्तनका लागि नेतृत्व गर्न हरदम तयार रहनै पर्छ । युवा वर्ग देशका भविष्य हुन् । देशको भविष्यलाई देश भित्रै रहने गरी युवा मैत्री वातावरण नेपाल सरकारले निर्माण गर्ने नसक्दा युवा दिवस जस्ता महत्वपुर्ण दिवसहरु दिवसमै सिमित रहेको देखिन्छ ।