अगाामी माघ ११ देखि १३ गतेसम्म प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धन तथा बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजना हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ तयारीलाई तिव्रता दिइएको छ । बाँकेमा २४ बर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताको प्रवद्र्धक लुम्बिनी खेलकुद परिषद्ले प्रतियोगिताका सफल आयोजनाका लागि निकै चासो राखिराखेको बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले जानकारी दिए । ‘लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले प्रतियोगिताको आयोजनाका कार्यहरूबारे चासो राखिरहनु भएको छ, उहाँबाट साथ र सहकार्यको प्रतिबद्धताले हामीलाई हौसला प्रदान गरेको छ’, अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाले प्रतियोगितामा सहभागिताका लागि आव्हान गरिसकेको जानकारी दिएका छन् । ‘विभागीय सहित र्याङ्किङ्ग लगायतका खेलाडीलाई सहभागिताको आव्हान गरेका हौं’, अध्यक्ष थापाले भने ।
अध्यक्ष थापाले प्रतियोगितालाई लिएर क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिसँग पनि छलफल गरिएको जानकारी दिए ।
प्रतियोगितामा ‘सिड मनी’का लागि पदाधिकारीले नै आर्थिक संकलन गरेका छन् । अध्यक्ष थापा, उपाध्यक्ष मिन मल्ल, सचिव भक्त बहादुर गोदार क्षेत्री, कोषाध्यक्ष जयदेव अवस्थी, सदस्य भाष्कर काफ्ले, खेलप्रेमी अजय कुमार कनोडियाले १० हजार १ सय ‘सिड मनी’ जम्मा गरेका हुन् ।
प्रतियोगिताको तयारीका क्रममा संघले बिहीबारदेखि सचिवालय सञ्चालनमा ल्याएको छ । ‘तीन दिनसम्म चल्ने राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा पाँच वटा विधा राखिएको छ’, आयोजक संघ अध्यक्ष सञ्जय थापाले भने, ‘पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल बी लेभल र ४५+ भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइनेछ ।’ प्रतियोगितामा विजयी खेलाडीहरूलाई आकर्षक पुरस्कारको व्यवस्था आयोजकले गरेका छन् । आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष मिन बहादुर मल्लले पुरुष एकलतर्फ प्रथम हुनेलाई ७० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई १५÷१५ हजार, महिला एकलतर्फ प्रथमलाई ६० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५÷१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५÷१५ हजार रुपियाँ प्रदान गरिने जानकारी दिए । पुरुष युगल (बि लेभल)तर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०÷१० हजार र पुरुष युगल (भेट्रान्स ४५ प्लस)तर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १०÷१० हजार रुपियाँ प्रदान गरिने संघले जानकारी दिएको छ ।
प्रतियोगितामा नेपालभरीबाट १ सय ५० जना बढी खेलाडीहरूले सहभागिता जनाउने अपेक्षा राखिएको छ । प्रतियोगितालाई स्वच्छ तथा प्रभावकारी ढंगबाट संचालन गर्नको लागि राष्ट्रिय स्तरका रेफ्री तथा अम्पायरहरू आउने भएका छन् । त्यसका लागि एम्पायर लाइन जजमेन्ट अफिसियल डेस्कको निर्णय समेत भैसकेको छ ।
प्रतियोगिताको आयोजनामा ३१ लाख २७ हजार लागत अनुमान गरिएको छ । जसका लागि प्रदेश सरकार लगायतबाट स्रोत जुटाइने आयोजकले जानकारी दिएका छन् ।