प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा सोमबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम क्षेत्रको मौलिक पर्वका रूपमा रहेको गौरा पर्व बारे जानकारी दिने उद्देश्यले गरिएको परिचयात्मक कार्यक्रम बीच देउडा खेलेर गौरा पर्व मनाइएको हो ।
सम्पूर्ण सुदूरपश्चिमेली परिवारका तर्फबाट आयोजना गरिएको कार्यक्रममा मुख्यत गौरा पर्वका बिस्तृत विषयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्राध्यापक नयन सिंह धामीले प्रकाश पारेको आयोजना संयोजन गरेका मोहन चन्दले जानकारी दिए । उनका अनुसार कार्यक्रममा अछामी समाजका अध्यक्ष पुष्कर खड्काले सुदुरपश्चिमको मौलिक पर्वका रूपमा रहेको गौरा बारे देशविदेश जहाँकहीँ प्रकाश प्रसार गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
‘बाँकेमा रहेका सुदूरपश्चिमेलीहरू बीच एकै ठाउँमा परिचय आदानप्रदान गर्नु र गौराबारे जानकारी दिनु आयोजनाको उद्देश्य हो’, युवाहरू बीच देउडा आयोजना गरिएको जानकारी दिंदै चन्दले दैनिक नेपालगन्जसँग भने ।