नेपालगन्जका खुद्रा व्यवसायीहरूले मंगलबार तिज उत्सव मनाएका छन् । खुद्रा व्यवसायी संघ नेपालगन्जको आयोजनामा व्यवसायी महिलाहरूको भव्य सहभागितामा तिज उत्सव मनाइएको हो । संघका अध्यक्ष हिमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयका केन्द्रीय उपाध्यक्ष, ब्रह्मकुमारी दुर्गाले तिजको आध्यात्मिक महत्व र महिला सशक्तिकरणबारे मुख्य वक्ताका रूपमा आफ्ना धारणा राखेकी थिइन् ।
संघका सचिव युवराज काफ्लेले सहजीकरण गरेको कार्यक्रममा विशेष वक्ताका रूपमा संघ संस्थापक अध्यक्ष भीम बहादुर रानाभाटले व्यवसायिक एकताका लागि संघ स्थापनाको संघर्षबारे जानकारी गराए । महिला उद्यमी संघ बाँकेका अध्यक्ष सावित्री बस्नेत, नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष मन्दिरा पाण्डे लगायत तिजका विविध पक्ष र उद्यमी महिलाका विभिन्न सवालहरू बारे आफ्ना धारणा राखेका थिए ।
उत्सवमा सहभागी महिलाहरूले मौलिक परम्पराका विभिन्न गीत संगीतमा नृत्य प्रस्तुत गरेर तिज उत्सव मनाएका थिए । ‘व्यवसायिक व्यस्तताले माइत जान नसक्नेहरूका लागि संघले अभिभावकीय भूमिका खेलेर हाम्रा लागि तिज उत्सवको आयोजना गरिदियो’, सहभागी महिला उद्यमीहरूले कार्यक्रमबारे भने ।