निःसन्तान भएका दम्पत्तिका लागि नेपालगन्जमा निःशुल्क शिविर गरिने भएको छ । नेपालगन्ज स्थित एचसीआरसी अस्पतालले विशेषज्ञ चिकित्सक सहितको उपस्थितिमा आज शनिबार अस्पताल परिसरमै ‘फ्रि इन्फरलिटि क्याम्प’ आयोजना गर्न लागेको हो ।
अस्पताल प्रमुख डा. कुमार सान शाहका अनुसार, निःसन्तानपनको उपचारका लागि शिविर आयोजना गरिएको हो । ‘उपचार सम्भव नभएकाहरूका लागि आइभीएफ (टेष्ट ट्युब बेबी) मार्फत समाधानका लागि पनि विशेषज्ञता सहितको व्यवस्थापन गरिनेछ’, डा. शाहले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि डाक्टर मञ्जु बिसी शाहको टोलीले लखनउ स्थित इन्दिरा आइभिएफ फर्टिलिटि सेन्टरमा उपचार उपलब्ध गराउनेछ ।’
निःशुल्क परामर्श सहितका विभिन्न उपचार पद्धतिमा विशेष सुविधा तय गरिएको अस्पतालले जनाएको छ । एचसीआरसी अस्पतालका निर्देशक रमेश सिटौलाले निःशुल्क विशेषज्ञ परामर्श सहित टिभिएस, आइयुआई, प्रयोगशाला, आइभीएफ लगायतका विभिन्न प्राविधिक उपचारमा समेत ५० प्रतिशतसम्म सहुलियतको व्यवस्था गरिएको जानकारी दिए । ‘निःशुल्क शिविरमा सेवा लिनेहरूका लागि यसखालको सहुलियत व्यवस्थापन गरिएको छ’, निर्देशक सिटौलाले दैनिक नेपालगन्जसँग भने, ‘अस्पतालले निःसन्तानपनको उपचारमा विशेषज्ञता सेवाको तयारी पनि गरिरहेकाले त्यसका लागि आवश्यक पूर्व तयारीमा यसखालका शिविर प्रभावकारी हुने विश्वास गरेका छौं ।’
आज हुने शिविरमा विशेष छुटको व्यवस्था गरिएको अस्पतालले जानकारी दिएको छ ।