धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ सुरु भएको छ । प्रि–इभेन्टका रूपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड बिहीबार राती आयोजना गरिएको हो ।
बिहीबार भएको नाइट रन अन्तर्गत १० किलोमिटर मेन्स ओपनमा मुकेश पाल प्रथम, सन्तोष विक्रम विष्ट दोस्रो, किरण सिंह बोगटी तेस्रो भए ।
त्यस्तै, १० किलोमिटर ओमेन ओपन तर्फ गिता कुमारी साहु, स्वस्थिका शाही, सलीना थारु क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थानमा रहे ।
आयोजक क्रियटिभ ह्याण्डसका अनुसार, १० किलोमिटर भेट्रानस् (४५ बर्ष माथि) ओपन तर्फ रैवत दाहाल प्रथम, भरत श्रेष्ठ दोस्रो र महेन्द्र बज्राचार्य तेस्रो भएका थिए ।
आयोजक क्रियटिभ ह्याण्ड््सका अनुसार, रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिवारदेखि हरेक शनिवार बर्षभरि सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ ।
१०औं धारा नेपालगन्ज म्याराथन नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद परेकाले तीन मंसिर २२ गते शनिवार आयोजना हुने आयोजक क्रियटिभ ह्याण्डस्ले जानकारी दिएको छ ।
दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमायात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।
मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्ज कनक्लेव, दशक रत्न सम्मान हुँदै मंसिर २२ गते धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण गरिने नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् ।