प्रशिक्षण गर्न मैदान देउ : संघ

नेपालगन्ज स्थित रंगशालाको खेल मैदान प्रयोगविहीन भएको बर्षौ भैसकेको छ । यो वा त्यो वहाना नियामक निकायले नीति नबनाउन खेल मैदानको उपयोग हुन नसकेको हो । खेल पूर्वाधार बनेको लामो समयसम्म स्वामित्व स्पष्ट नहुँदा खेल मैदान खेलाडीहरूले प्रयोग गर्न पाइरहेका छैनन् ।

आठौं राष्ट्रिय खेलकुदका लागि प्रयोग गरिएका खेल पूर्वाधारहरू आयोजना सकिएको पाँच बर्ष पूरा भैसक्दा पनि कुनै पनि स्थानीय स्तरका खेल आयोजना गर्न नपाइएको भन्दै सम्बद्धहरूले आलोचना गर्दै आएका छन् ।

यसैबीच, बाँके जिल्ला फुटबल संघले बालबालिकाको प्रशिक्षणका लागि फुटबल मैदान उपलब्ध गराउन माग गर्दै शुक्रबार क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दलाई ज्ञापनपत्र बुझाएको छ । सय बढी बालबालिकालाई लक्षित गर्दै १२ बर्षमूनिका बालिकाहरूको बृहत फुटबल प्रशिक्षणका लागि असोज १५ देखि कम्तिमा १२ महिनाका लागि फुटबल मैदान उपलब्ध गराउन ज्ञापन पत्र बुझाएको संघले भनेको छ, ‘सो प्रशिक्षण बीच प्रतियोगिता समेत आयोजना गर्न खोजिएको हो ।’

संघका अध्यक्ष भोजराज शाहीका अनुसार, संघले नै प्रशिक्षण र प्रतियोगिता खर्च समेत बेहोर्ने भएकाले पनि निःशुल्क फुटबल मैदान उपलब्ध गराउँदा १२ महिना नै बालबालिकाहरू फुटबल प्रशिक्षणमा सहभागी हुने र नयाँ प्रतिभाको उजागरसँगै मोबाइल फोबिया, अटिजम तथा विभिन्न कुलत तर्फ उन्मुख बालबालिकाको समग्र विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

‘वास्तवमा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद र जिल्ला आफैले हामीलाई यसखालको प्रशिक्षणका लागि प्रेरित गर्नुपर्नेमा सातसात बर्षसम्म नेपालगन्ज रंगशालामा नियमित रूपमा खेल सञ्चालन गर्न नपाउनु विडम्वना हो’, एन्फाका केन्द्रीय सदस्य समेत रहेका जिल्ला अध्यक्ष शाहीले ज्ञापनपत्र बुझाएपछि दैनिक नेपालगन्जसँग भने, ‘यसतर्फ स्थानीय सरकारको समेत चासो पुग्न जरुरी छ ।’

शाहीले बाँकेमा फुटबल प्रशिक्षणका लायि गतिलो फुटबल मैदान नहुँदा ग्रासरुट फुटबल प्रशिक्षण समेत प्रभावित भएको बताए । ‘सात–सात बर्ष विभिन्न बहानामा रंगशालालाई खेलविहीन बनाइनु निकै विडम्वनाको कुरा हो’, बाँके जिल्ला फुटबल संघका अध्यक्ष शाहीले यसतर्फ सरोकारवालाहरूको ध्यान पुग्न ढिलो भएको गुनासो गर्दै भने, ‘खेलाडीहरू नै सडकमा उत्रनु पर्ने हो ।’

ज्ञापनपत्र बुझ्दै क्षेत्रीय खेलकुद प्रमुख चन्दले त्यसबारे आवश्यक निर्णयका लागि केन्द्रमा पहल गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष शाहीले जानकारी दिए ।

Exit mobile version