देशमा आजः ८ बजे ८ खबर

  1. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् ।
  2. अमेरिकी सहयोग नियोगद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘सिकाइ आदान–प्रदान कार्यशाला’ मा सरकारसँगै गैरसरकारी क्षेत्रमा कार्यरत संघ, संस्थाहरूले विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
  3. चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ९९ लाख ५६ हजार रूपैयाँको प्याज आयात गरिएको छ । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २८७.४३ प्रतिशतले बढी प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ ।
  4. झन्डै २३ वर्ष अगाडि १८ कठ्ठा १५ धुर क्षेत्रफलमा ७ वटा टर्फ विकेटसहित वीरगन्जमा निर्माण भएको क्रिकेट मैदान अहिले अलपत्र छ । सरकार र राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट मैदान निर्माण हुने क्रममा केही जग्गा धनीको जग्गाको मुआब्जा विवाद समाधान नगरिदिँदा मैदानको उचित रेखदेख समेत हुन सकेको छैन ।
  5. भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कमला पुल तयार गरी हुलाकी सडक सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताएका छन् । धनुषाको लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले कमलामा रहेको पुरानो पुललाई मर्मत गर्ने की नया पुल बनाउने विषयमा प्रविधिकहरूले अध्ययन गरिरहेको बताए ।
  6. सहकारी ठगी प्रकरणमा फिल्म क्षेत्र समेत तानिएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानविन प्रतिवेदन २०८१ मा सहकारी ठगीको रकम चलचित्र क्षेमा समेत प्रयोग भएको भेटिएको उल्लेख छ ।
  7. सूचना प्रविधि र टेलिकम्युनिकेसन सेवा निर्यातबाट एक महिनामै ८३ करोड २७ लाख रुपैयाँ खुद विदेशी मुद्रा आर्जन भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
  8. त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएको तर ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालय परिसरमा धर्ना दिएका छन् । त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका हुन् ।
Exit mobile version