नेपाल–भारत सीमाको बाँके खण्ड ६५ किलोमिटर खुला रहेको छ । सीमामा नेपाल तर्फ सुरक्षाकर्मीको उपस्थिति निकै पातलो छ । मुख्य नाकाबाहेक अन्य नाकामा सुरक्षाकर्मीको पातलो उपस्थिति नहुँदा भन्सार छली हुने गरेको छ । भित्री नाकामा छोटी भन्सार नहुँदा पनि सीमावर्ती गाउँबाट मालसामान तस्करी हुने गरेको हो ।
खुला सीमामा नेपाली सुरक्षाकर्मीको पालतो उपस्थिति रहने गएपनि ठाउँठाउँमा चेकपोष्ट छन् । समतल ठाउँ भएकाले टाढैबाट पनि मालसामानको आसारपोसार र मानिसहरूको आवातजावत देख्न सकिन्छ । खुला सीमामा निगरानीका वावजुद भन्सार छलेर ल्याइएको मालसामान नेपालगन्जका बजार क्षेत्रमा प्रहरीले बरामद गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले सोमबार मात्रै २१ लाख बढीको अबैध भन्सार छलीको मालसामान बरामद गरेको जानकारी दिएको छ ।
बाँके प्रहरीका अनुसार, नेपालगन्ज वडा नं. ४ न्यूरोडबाट भन्सार छलेर ल्याएको ११ क्विन्टल चिनी र उक्त चिनी ढुवानिमा प्रयोग भएको सवारी ्र
साधन सहित जम्मा अन्दाजी मुल्य रु. २० लाख ८८ हजार बराबरको सामानहरू तथा नेपालगन्ज–१ बाट ४९ हजार ७ सय बराबरको मालसामान फेला परेको छ ।
त्यस्तै, वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्ज–४ बाटै सोमबार ११ लाख ८८ हजार बराबरको मोबाइल डिस्प्ले फेला पारेको प्रहरीले जानकारी दिएको छ ।
बाँके प्रहरीले गत भदौं महिनामा मात्रै भन्सार छलेर नेपाल भित्र्याइएको १ करोड ५८ लाख ६३ हजार बढीको मालसामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालय पठाएको थियो ।
नेपालगन्ज उद्योग वाणिज्य संघले पटकपटक भन्सार कडाईको माग गर्दै आएको छ । अवैध रूपमा भित्रिने मालसामानले कर तिरेर व्यवसाय गर्ने व्यवसायी धराशयी भएको भन्दै संघले स्थानीय प्रहरी, प्रशासनदेखि मन्त्रालयसम्म पुगेर त्यसबारे ध्यानाकर्षण गराइसकेको छ । भन्सारमा रहेको बिग्रेको स्क्यानर मेसिन बनाउन संघले पटकपटक आग्रह गरेपनि अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।