स्वयम्सेवी रक्तदातालाई उपहार वितरण

गोपाल–नीना फाउण्डेशन, नेपालगन्जद्वारा आयोजित ‘वृहद् रक्तदान कार्यक्रम’ मा रक्तदान गर्ने स्वयम्सवी रक्तदाताहरुलाई उपहार वितरण गरिएको छ ।

पूर्व घोषणा अनुसार गत शनिवार सम्पन्न भएको उक्त ‘बृहद् रक्तदान कार्यक्रम’ मा रक्तदान गर्ने स्वयम्सवी रक्तदाताहरु मध्ये चार जना रक्तदाताहरुलाई प्रोत्साहन स्वरुप फाउण्डेशनको कार्यालयमा २ महिला, २ पुरुष तथा दुई जना जनमतका नियमित रक्तदाताहरुलाई उक्त उपहार हस्तान्तरण गरिएको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिए ।

उल्लेखनीय छ, बाँके जिल्लामा रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं ः जीवन उपहार दिउँ” भन्ने नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको र १० जना महिला सहित ५७ जनाले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रमका लागि सूचना प्रविधिको माध्यमबाट सहयोग र समन्वयकारी भूमिका निर्वाह गरेका हेल्थ याद आयोको तर्फबाट उक्त वृहद् रक्तदान कार्यक्रममा रक्तदान गर्ने स्वयम्सेवी रक्तदाताहरुलाई थप प्रोत्सादन गर्नका लागि रक्तदान गर्ने सहभागीहरुलाई मोवाइल एपको माध्यमबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेल्थ याद आयोको तर्फबाट २ महिला, २ पुरुष तथा जनमतका दुई जना नियमित रक्तदातालाई रु. १ हजार ५ सय बराबरको हेल्थ प्याकेज, जसमा निःशुल्क डाक्टर परामर्श तथा निःशुल्क रगत सँकलन गर्ने विधि पनि समावेश गरिएको उपहार गोला प्रथाबाट निःशुल्क उपलब्ध गराइएको थियो ।

गोपाल–नीना फाउण्डेशनका टेक्नीकल अफिसर विपुल वर्माले दिनु भएको जानकारी अनुसार गोला प्रथाबाट उक्त उपहार पाउने महिला रक्तदातामा प्रभा पोखरेल र सरिता भण्डारी तथा पुरुष रक्तदातामा प्रितम शाह र शिवम् गुप्ता छन् भने विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अद्र्ध साप्ताहिकका नियमित रक्तदाता मध्ये शतक रक्तदाता पवन जायसवाल र दिला शाह रहेका छन् ।

उक्त उपहार गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमण र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाहले रक्तदाताहरुलाई एक कार्यक्रमका वीच हस्तान्तरण गरेका हुन् ।

अवसरमा फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह र जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले रक्तदान जस्तो महान अभियानमा सहभागी हुने रक्तदाताहरुलाई बधाई दिंदै हरेक तीन महिनामा त्यसै खेर जाने र नयाँ रक्त कोशिका तयार हुने भएकोले आफ्नो एक पिन्ट रगत दान गरेर अर्को एक जनाको जीवन बचाउने जस्तो पुण्य काममा सहभागी हुन सबै स्वस्थ व्यक्तिलाई आग्रह गरेका थिए ।

फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले दिएको जानकारी अनुसार उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन जनमत अद्र्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप), सवारी साधन सेवा प्रदायक कम्पनी पठाओले समन्वय र सहकार्य गरेको थियो ।

विभिन्न सामाजिक तथा मानवीय कार्यक्रमहरु आयोजना गर्दै आएको गैर नाफामूलक संस्था गोपाल नीना फाउण्डेसनले केही दिन अघि मात्रस्थानीय नील सागर वृद्ध सेवाआश्रममा निःशुल्क स्वास्थ्य शिविर, बालबालिकालाई मसलन्द वितरण तथा आश्रितहरुका लागि दिवा भोजन उपलब्ध गराएको थियो ।

Exit mobile version