देशमा आजः ८ बजे ८ खबर

  1. अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ ।
  2. गत साताको भारी वर्षा र बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाईंले जनाएको छ ।
  3. नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
  4. नक्कली नोटसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित रामकिशोर पटेल र सन्तोष उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।
  5. कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।
    सरकारको यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४२ दशमलव ३६ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेसँगै चर्चाको डेढ दशकपछि सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सुरु भएको हो ।
  6. बाढी पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै कांग्रेस–एमालेले कोशी प्रदेश सरकारलाई पालैपालो ज्ञापन पत्र बुझाएका छन् । प्रदेशमा एमाले–कांग्रेस गठबन्धनको सरकार छ ।
  7. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन गरेका छन् ।
  8. जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ। अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेसिनमा खराबी आएसँगै अक्सिजन अभाव भएको हो ।
    प्लान्टमा खराबी आएपछि अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएका जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।
Exit mobile version