विज्ञापन भनेको एक मार्केटिंग संचार हो जुन एक उत्पादन, सेवा वा विचार प्रबद्र्धन वा बेच्नको लागी एक खुला प्रायोजित,सन्देशमुलक रूपमा प्रस्तुत गरिन्छ । विज्ञापनमा प्रायः आफ्नो उत्पादन वा बस्तु तथा सेवालार्ई बढाई चढाई गर्दछन् ।
बर्तमान सञ्चार युगमा उत्पादित वस्तु वा सेवाको बिक्री प्रवद्र्धनका निम्ति विज्ञापनको विशिष्ट महत्व रहँदै आएको छ । यो अति नै प्रतिस्पर्धात्मक समयले विज्ञापनका कारण सेवा वा वस्तुले लक्षित उपभोक्ताको ध्यानाकर्षण गर्ने कोशिस गरेका हुन्छन् । फलस्वरूप ठूला बस्तु तथा सेवा प्रदायक निकायले निश्चित प्रतिशत विज्ञापन खर्चका रूपमा छुट्याएका हुन्छन् । जुन रकम उपभोक्ताबाटै असुल गर्दछन् । हिजोआज विज्ञापनका नाममा विभिन्न नकारात्मक गतिविधिले पनि प्रश्रय पाइरहेको छन् । यो आम उपभोक्ताले महसुस गर्दै आएको कटुतथ्य हो । सञ्चारका विभिन्न माध्यमबाट गरिने श्रव्य, दृश्य, छापा तथा अन्य विज्ञापनहरूको भाषा, शैली, प्रस्तुति उपभोक्ता झुक्याउने र ठग्ने खालका छन् ।
विगतमा कतिपय वस्तु वा सेवाका विज्ञापनका कारण जातीय, धार्मिक तथा सांस्कृतिक सद्भावमा खलल पर्ने आशङ्कामा रोक लगाइएका उदाहरण हामी माझ छन् । यस अर्थमा विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी विषयवस्तुलाई प्रभावकारी नियमन गर्नु अति आवश्यक भइसकेको छ ।
आज भोली फलफूलको रसहरू तथा जुसको विज्ञापनमा निकै झुट एवं भ्रमपुर्ण कुराहरूको प्रचार प्रशार भैरहेको छ । यस्ता बिज्ञापनमा ‘ताजा फलफूलबाट बनाई केही नमिसाई बट्टामा बन्द गरिएका स्वस्थ’ भनेर जोडतोडले प्रचार गर्ने गरिएको छ । फलफूलको वास्ना र चिनी मिसाएर बनाइएका रसलाई हामी साच्चिकै फलफूलको रस भनेर पत्याई किनेर खाने गर्दछौ । ठण्डा दिमाखले सोचौ त फलफुलकै रस हो भने के कुनै पनि बाहिरी वस्तु नमिसाई फलफूलको रस ‘ताजा’ रहिरहन सक्छ ? बिल्कूल सक्दैन । ताजा फलपुलको तुलनामा यति सस्तोमा फलफूलका रस पाईन्छ । अवश्य पाईदैन । रस बनाएर राख्दा फलफूलमा भएका कतिपय पोषणतत्व नष्ट हुन्छन् । आयुर्दवेदाचार्यहरूले त बट्टाको जुसलाई जहर नै भन्ने गरेका छन् ।
तपाई हामी आफै बिचार गरौ त, के बिज्ञापनमा आउने सबै कुरा सत्य र वास्तविक हुन्छन त ? उत्तर स्पष्ट छ कदापी हुदैनन । ति त ग्राहक तान्न र सामाग्री बिकाउन गरिएका आकर्षक बिज्ञापन मात्र हुन । टेलिभिजनमा हर्लिसको एउटा विज्ञापन आउँछ । ‘दुध उम्ले पछि पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले हर्लिक्स मिलाएर बच्चालाई दिनुस् र दुधको पोषण बढाउनुस् ।’ “तपाईका बच्चाहरूले घरको खाना खाँदैनन ? त्यसैले हर्लिक्स खुवाउनुस, यो खाएपछि बच्चा छिटो बढ्छ, बढी बुद्धिमान हुन्छ ।’ झट्ट सुन्दा हो जस्तो लाग्ने यस्ता बिज्ञापनले मानिसलाई बेकुव बनाउने र घरमा उब्जाउ भएका बस्तुको प्रयोगमा निरुत्साहित गर्ने गरेका छन् ।
आफ्नो खेतवारीमा उत्पादन भएको जौ को सातु महंगो हर्लिक्स र ओट्स भन्दा कैयौ गुणा स्वास्थबर्धक मानिन्छ । तर मानिसहरू आकर्षक बिज्ञापनका कारण हलिक्स जस्ता रेडिमेट खाद्य बस्तुहरू आफ्ना बच्चालाई खुवाउने गर्दछन् । टेलिभिजनमा आउने हलिक्सको बिज्ञापनमा एकजना स्वास्थ्यकर्मी आएर यस्तो खानेकुराले “बालबालिकाको बुद्धि बढाउँछ’ भन्दछन् । खेतवारीमा उत्पादिन अर्गानिक खाद्य बस्तुको तुलनामा कुनै पनि बजारिया प्याकेटमा राखिएका खानेकुराहरूले बच्चालाई न त अग्लो बनाउँछ, न त बढी बुद्धिमान नै । बच्चालाई घरमा नै बनाइएका दाल, भात, रोटी, तरकारी, दूध, दही, फलफुल, गेडागुडी आदिको उचित पोषणले नै स्वस्थ राख्न मद्धत गर्दछ । बजारमा पाईने कुनै खास खानेकुराले बालबालिकालाई बढी नै बुद्धिमानी बनाउने भए धनी आमाबाउका छोराछोरी बढी बुद्धिमान हुनु पर्ने तर वास्तविकतामा त यस्तो देखिएको छैन । बरु रेडिमेट खाद्य बस्तु भन्दा गाउँले उत्पादित खाद्यबस्तु खाएका बच्चाहरू तन्दुरुस्त र स्वस्थ र फुर्तिला देखिन्छन् । उनीहरू नै बलवान देखिएका छन् ।
भ्रमपूर्ण विज्ञापनका कारणले गर्दा धेरै बाबुआमाले आफ्ना बच्चाहरूलाई आफै खेतवारीबाट उत्पादिन खाद्य बस्तुहरू दालभात, रोटी, तरकारी, दुध दहि महि, फलफुल खान प्रेरित नगरेर बाहिरका महंगा र जंगफुट खानेकुराहरू दिने प्रचलन बढ्दै गएको छ । आफुलाई आधुनिक शहरिया र पैसावाल भन्ने देखाउनै लागी कतिपयले यस्ता बस्तुहरू प्रयोगमा ल्याउने गरेको पनि पाईएको छ । यस्ता बस्तुको उपभोगमा उनीहरू आफुलाई ठुलो र हुनेखाने सम्झन्छन् ।
चाउचाउ, चिजबल्स, कुरमुरे, लगायतका जंग फुट र कोल्ड ड्रिक लगायतका पेय पदार्थले वालबालिकाको स्वास्थ्यमा राम्रो गर्नु भन्दा बढी नराम्रो गरिरहेका हुन्छन् । बेलामा बुद्धि नपुराई घरमा बनाएको खाना भन्दा रेडिमेट खानेकुरा दिदा आफना बच्चाहरू बिरामी परेर आज थुप्रै अभिभावकहरू चिन्तित भैरहेका छन् । सजिलो र आकर्षक बिज्ञापनको भ्रममा परेर प्रयोग गरिएका नक्कली खाद्य बस्तुका कारण आफ्ना बच्चाहरू बिरामी परे पछि मात्र कतिपयको चेत खुल्ने गरेको हुन्छ र भन्ने गर्दछनर्् एकछिनको सजिलोले छोराछोरीको स्वास्थ्य बिग्रीयो । यस्तो हुन्छ भन्ने जानेको भए किन बिज्ञापनको पछि लागेर यस्ता बस्तुको प्रयोग गरिन्थ्यो होला र’ ?
गुलिया आइसक्रिम, चोखोपन, चकलेटहरू जति खाए पनि कुनै खास मञ्जनले दाँत माझेपछि चाँहि दाँतमा केही असर नगर्ने भन्ने किसिमका विज्ञापनहरू पनि संचार माध्याममा आउने गरेका छन् । यसबाट बच्चाहरू मात्र नभई आमा बाबुहरूमा पनि ठूलो प्रभाव परेको देखिन्छ । तर यस किसिमका भनाइ बिल्कुलै गलत हुन् । बालबालिकाहरूको दाँतमा चकलेट, केक, आइसक्रिम, कोकाकोला, पेप्सी आदि गुलियो वस्तुको नकारात्मक असर पार्ने स्वास्थ्यकर्मीहरू बताउछन् ।
वास्तवमा भन्ने हो भने कुनै वस्तुको जति बढी विज्ञापन हुन्छ त्यो वस्तु नै हामीलाई नचाहिने रहेछ भनेर बुझे हुन्छ । भटमास, कोदो, मकै, चना, जौ, फापर जस्ता वस्तुको विज्ञापन गर्न पर्दैन ति बस्तु हाम्रा लागी कति उपयोगी र हितकर छ भन्ने कुरा हामी कसैबाट छिपेको छैन । तर आधुनिकता र अल्छीपनाले गर्दा आज हामी हाम्रा बच्चाहरूको स्वास्थ्य बिगार्नमा हामी आफै जिम्मेवार भैरहेका छौ । हामी आफैले आफ्ना बालबालिकालाई यस्ता बस्तुका परिकार बनाएर दिनुको सट्टा सजिलोको लागी तयारी खानेकुराको प्रयोग बढीनै मात्रामा गर्न थालेका छौ ।
सचेत नभएका कारणले पनि उपभोक्ता ठगिएका हुन् । उत्पादकले त छिटो नाफा कमाउनका लागि विज्ञापन बजाउँछन् । बिज्ञापनको पैसा पनि जनतासँगैैं असुल्छन् । प्राय जसो विज्ञापन बजाएको सामान खरिद गर्ने हो भने आफू ठगिएको भनेर जाने हुन्छ । बोल्नेको पिठो बिक्छ भन्ने मानेर धेरै उत्पादकले आफ्ना बस्तु र सामानको अनाबश्यक बढाई चढाई गरेर बिज्ञापन गरेका हुन्छन् । अकबरी सुनलाई कसी लाईन पर्दैन भने जस्तो राम्रो सामान भए त्यसै खपत भई हाल्छ ।
पछिल्लो समय बस्तु र सेवाको बिज्ञापनमा चलचित्र क्षेत्रमा नाम कमाएका कलाकारहरू खेल्न थालेका छन् । चाउचाउ, बिस्कुट, कोक फेन्टा, जुस,दाल चामल तेल लगायतका खाद्य बस्तु देखि लिएर सिमेण्ट, डण्डी लगायतका निर्माण सामग्रीको समेत विज्ञापन गर्न थालिएको छ । त्यस्तो विज्ञापनमा समेत कलाकारकै कलाकारिता देख्न सकिन्छ । नाम चलेका कलाकारले आफुले अभिनय गरेका बिज्ञापनका सामाग्रीहरू कत्तिको गुणस्तर र उपभोेक्ता मैत्री छन् भन्ने कुरामा बिचार पुर्याउनु पर्दछ ।
नेपालमा जति पनि ठूल्ठूला व्यवसायी छन् तिनीहरू, अनुचित ब्यापारिक क्रियाकलाप र विज्ञापनकै कारण माथि आउन सफल भएका छन् । कतिपय ब्यवशायी घरानाले सरकारको आँखा छलेर उपभोक्ता ठगेका छन् । पहुँच हुनेले बिज्ञापनमा लगाउनी गर्ने, नियमनकारी निकायलाई प्रभावमा पार्ने, राजस्व छल्ने तर तिनैले, कम गुणस्तरका सामान उत्पादन गर्ने, मजदुरहरूको श्रम शोषण गर्ने गरेका हुन्छ्न ।
पछिल्लो समय जे मनलाग्यो त्यसैको विज्ञापन गर्ने प्रचलन बढ्दो छ । हुँदा हुँदा कानून बिपरित बिदेशी देशका बस्तु तथा सेवाका बिज्ञापन पनि संचार माध्याममा पढ्न र सुनिन थालेका छन् । भनिन्छ नि, ‘बोल्न सक्नेको पिठो पनि बिक्छ, बोल्न नसक्नेको चामल पनि बिक्दैन’ । बस्तु तथा सेवा प्रदायक व्यवशायीले पनि ठ्याक्कै यही गरेका छन् । विज्ञापन गर्दै उपभोक्ता ठग्ने काम गरेका छन् ।
सुनिन्छ, विज्ञापन दिनेको विरोधमा मिडिया हाउसहरूले कलम चलाउँदैनन् । उनीहरूले गर्नै नहुने काम गरे पनि थाहा नपाए जसरी हात बाँधेर बस्छन् । विज्ञापन नदिएको खण्डमा मात्र मिडिया हाउसहरूको कलम चलाउने कार्य संचार माध्यामले गर्नु हुदैन । सबै ब्यवशायिक हुनु पर्दछ । विज्ञापनको आडमा होईन गुणस्तर र कानून सम्मत ब्यवशाय गर्ने, सामान बेच्ने प्रवृत्तिको बिकाश गरिनु पर्दछ ।
संचार माध्यामहरूमा आउने भ्रमपुर्ण विज्ञापनकै प्रभावले गर्दा आज तपाईं हामी जीवनका हरेक पलमा ठगिइरहेका छौ । विवेकहीन विज्ञापनकै प्रभावमा परेर हामीलाई आवश्यक नपरेका बस्तुहरू पनि किन्ने, घरैमा त्यो बस्तु भए पनि पकाउनको झन्झटका कारण रेडिमेट किन्ने नराम्रो बानी हामीमा परिसकेको छ । यसले गर्दा थोरै व्यय गर्ने ठाउँमा पनि हामीले धेरै खर्च गरिहेका छनै । आफ्नो स्वास्थ्य खराब गर्न आफैं अघि सरिरहेका छौ ं। विज्ञापनको प्रभावमा देखेर कुनै वस्तु प्रयोग गर्नु अघि हामीले गंभिर भएर सोच्ने बेला भैसकेको छ । के विज्ञापनमा भनिएका कुरा साँच्चै विश्वास गर्न लायक छन् त ? के विज्ञापन भने जस्तै बस्तु तथा सेवामा गुणस्तर छ त ? बिज्ञापनको प्रभावमा परेर हामीहरू कतै हामीले आफ्नो विबेक त गुमाइरहेका छैनौँ ? ठण्डा दिमाखले सोचौ । भ्रमपुर्ण बिज्ञापनको आधारमा सामान खरिद गर्नु भन्दा पहिले वास्तविक कुरा बुझ्ने प्रयत्न गरौ । सकेसम्म घरमा उत्पादिन र घरैमा बनाईएका खाद्य बस्तुहरूको प्रयोग गरौ । सजिलो र आकर्षक बिज्ञापनको भ्रममा परि आफ्ना बालबालिकालाई जंग
फुट र अस्वस्थकर खानेकुरा दिन आजैबाट बन्द गरौ । (लेखक अधिवक्ता हुन्)