सर्पको डसाईबाट मानिसलाई बचाउन डिभिजन वनकार्यालय बाँके सर्प व्यवस्थापन गर्ने कार्यमा जुटेको छ। यो आर्थिक बर्षको साउन देखि हाल सम्म ९ प्रजातिका ६३ वटा सर्पको व्यवस्थापन गरिसकेको हो ।
घर वस्ती नजिक आएका सर्पलाई डिभिजन वन कार्यालय बाँकेले साढे तिन महिनाको अवधिमा बाँकेका विभिन्न स्थानबाट गोमन, करेत , रसियन भाइपर , धामन , फेटारा , अजिंगर , क्याट स्नेक, दुइमुखे सर्प र पानी सर्प गरी ९ प्रजातिका ६३ वटा सर्प लगायत गोही, रतुवा , सुनगोहोरो, चितुवा गरी ५ वन्य जन्तुको समेत व्यवस्थापन गरिसकेको छ ।
बाँकेका स्थानीयले दिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय बाँकेले सर्पलगायत वन्यजन्तुको उद्धार गरी वनक्षेत्रको उचित वासस्थानमा व्यवस्थापन गर्दै आएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए ।
एकै दिनना ४ वटा रसियन भाइपर समातेर मानिस र वन्यजन्तुको पहुँच नहुने बाँके राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा व्यवस्थापन गरेको भन्दै विषालु सपको डसाईबाट बच्न सबै सचेत रहन र डिभिजन वन कार्यालय बाँकेलाई तत्काल खबर गर्न डिभिजन वन कार्यालय बाँकेका सुरक्षा प्रमुख थिरबहादुर थापा मगरले जानकारी दिए ।
विषालु सर्पको डसाईबाट मानिसको ज्यान जोगाउन डिभिजन वन कार्यालय बाँकेले दैनिक उद्धार कार्यमा जुट्न मोइवाइल टिम खटाउने गरेको छ । भदौ अन्तिम साता सम्म सर्पको डसाइबाट विभिन्न जिल्लाका १६ जनाको ज्यान गएको र १ सय २० बढी उपचार पछि घर फर्केको नेपालगंज स्थित भेरी अस्पतालको तत्थ्यांक छ ।