बाँकेमा सन् २०२४ मा मानवअधिकार उल्लंघनका १ सय ९८ वटा घटना इन्सेक नेपालगन्ज कार्यालयले अभिलेखिकरण गरेको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व इन्सेकले नेपालगन्जमा बिहीबार आयोजना गरेको सीमक्षा कार्यक्रममा गत बर्ष पुस १६ देखि २०८१ पुस ९ गतेसम्म इन्सेकले विभिन्न मानवअधिकार उल्लंघनका १ सय ९८ वटा अभिलेखिकरण गरेको जानकारी दिइएको छ ।
समीक्षा कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भोला महतले मानवअधिकार उल्लंघनका घटनाहरू प्रति चिन्ता व्यक्त गरे । उनले गैर राज्य पक्षबाट महिला अधिकारका १ सय ९, धम्की ४, बालिका बलात्कारका ३२, घाइते ९ राज्य पक्षबाट ८, अमानवीय व्यवहार १३, हत्याका ६, बाल अधिकार ३९, कुटपिट ८, कारागारमा मृत्यु १ र मानव बेचबिखन तथा ओसारपसारका घटना अभिलेखिकरण गरेको बताए ।
कार्यक्रममा नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले मानवअधिकारका सवालमा स्थानीय तह गम्भीर रहेको बताएका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मानव अधिकार संरक्षणमा आफु प्रतिबद्ध रहेको उल्लेख गर्दै मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले न्यायमा पहुँचका लागि सचेतनामूलक कार्यक्रमको आवश्यकता औंल्याए ।
माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले जघन्य अपराधका घटनाको छुट्टै अभिलेखिकरण गर्न इन्सेकलाई सुझाव दिएका थिए । अधिवक्ता विकास आचार्यले घरेलु हिंसाका घटनामा मिलापत्र हुँदा फेरि दोहोरियो वा दोहोरिएन त्यसको पनि अध्ययन आवश्यक रहेको बताए । अधिकारकर्मी कृष्ण मुरारी भट्टले जिल्लामा तस्करी मौलाइरहेको भन्दै त्यसको अध्ययन गरी प्रतिवेदन सहित राज्यलाई जिम्मेवार बनाउनु पर्ने धारणा राखे ।
अधिवक्ता बल बहादुर चन्दले अदालतकै फैसलाहरू कार्यान्वयन नभएकाले त्यसको कार्यान्वयन गराउन आवश्यक रहेको बताए । उनले सार्वजनिक सरोकारका विषयमा भएको फैसला र त्यसको कार्यान्वयनको अवस्था पनि अभिलेखिकरण गर्न इन्सेकलाई सुझाव दिएका थिए ।
वरिष्ठ अधिवक्ता सुशील श्रेष्ठले मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य र समन्वय आवश्यक रहेको आंैल्याए ।
उपभोक्ता अधिकारकर्मी प्रभात सिंह ठकुरीले भारतबाट म्याद गुज्रिएका मालसामान भित्रिने गरेको र त्यसले उपभोक्ताको मानवअधिकार हनन भैरहेको बताए । अधिवक्ता विश्वजित तिवारीले साइबर अपराधबाट भैरहेको मानवअधिकार हननका घटना पनि इन्सेकले अभिलेखिकरण गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले इन्सेकले जिल्लामा घटनाको अध्ययन गरी अभिलेखिकरण गरेकोमा प्रशंसा गरिन् ।