इलेक्ट्रोनिक गाडी (इभी) को आकर्षण बढ्दै जाँदा सांग्रिला मोटर्स प्रा.लि.ले नेपालगन्जमा आफ्नो आधिकारिक डिलर शुभलाभ इन्टरप्राइजेज मार्फत सोमबार सि–१० लन्च गरेको छ ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालको प्रमुखको आतिथ्यतामा गोल्छा अर्गनाइजेशनका डाइरेक्टर आकाश गोल्छा, जय गोल्छा र शुभलाभ इन्टरप्राइजेजका प्रबन्ध निर्देशक निरन्ञ्जन राज भण्डारीले सि–१० इभी नेपालगन्ज क्षेत्रका लागि बिक्री खुला गरिएको घोषणा गरे । त्यसबीच खरिद गर्ने ग्राहकलाई गाडी समेत हस्तान्तरण गरेका उनीहरूले नयाँ गाडीका आकर्षणहरूबारे सहभागीहरू बीच प्रस्तुति पनि गरेका थिए ।
‘आकर्षक डिजाइन र आधुनिक प्रविधिका लागि प्रसिद्ध लीपमोटर सि–१० अब नेपालगन्जका ग्राहकहरूको लागि उपलब्ध हुनेछ’, शुभलाभका प्रबन्ध निर्देशक राजभण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘बुकिङहरू समेत आधिकारिक रूपमा खोलिएका छन् ।’ कम्पनीनका अनुसार, यो मोडेल वातावरणमैत्री ग्राहकहरूको लागि डिजाइन गरिएको छ जसले परिष्कृत र दिगो भविष्यलाई सोचेर बनाइएको छ । ‘यसको अत्याधुनिक सुविधाहरू र आकर्षक डिजाइनले उत्कृष्ट ड्राइविङ अनुभव प्रदान गर्नेछ जुन इलेक्ट्रिक सवारीमै आफ्नो भविष्य सजाउनेहरूको अत्यन्तै राम्रो छ’, गोल्छा अर्गनाइजेशनका डाइरेक्टर जय गोल्छाले भने ।
साङ्ग्रिला मोटर्स प्रा.लि. नेपालको प्रतिष्ठित घराना गोल्छा अर्गनाइजेसनसँग सम्बद्ध छ । यो कम्पनीले २०१७ देखि प्यूजो, २०२१ देखि सिट्रोएन र हाल लीपमोटरको एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको जनाएको छ । ‘अर्गनाइजेसन नेपालमा विश्वस्तरीय मोटर ब्रान्डहरू ल्याउन र नेपालीहरूलाई विश्वस्तरको सुविधा प्रदान गर्नको लागि सधैं प्रतिबद्ध छ’, डाइरेक्टर आकाश गोल्छाले भने ।