लर्ड बुद्ध एजुकेशनल एकेडेमी अन्तर्गत नेपालगन्ज मेडिकल कलेजका कर्मचारी–व्यवस्थापन विवाद अदालत पुगेको छ । ओपीडी सहितका स्वास्थ्य सेवा ठप्प पारेर सेवा, सुविधा वृद्धिको माग सहित कर्मचारी आन्दोलित भएपछि कलेज व्यवस्थापनले अदालत गुहारेको हो ।
स्वास्थ्य सेवा जस्ता संवेदनशील अत्यावश्यक सेवामा हडताल, तालाबन्दी भएको भन्दै व्यवस्थापन पक्षले त्यसविरुद्धको आदेश माग गर्दै अदालत पुगेपछि आज बिहीबार त्यसबारे सुनुवाई हुने भएको छ ।
सम्बद्ध कानुन व्यवसायीका अनुसार, अदालतले बिहीबार दुवै पक्षलाई राखेर व्यवस्थापनले माग गरे अनुसार आदेश गर्नु पर्ने, नपर्ने निर्णय लिनेछ । त्यसका लागि उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजालासले दुवै पक्षलाई छलफलका लागि बोलाएको हो । दुवै पक्षका कानुन व्यवसायीको बहसका आधारमा अदालतले आवश्यक निर्णय लिने बताइएको छ ।
सेवा, सुविधा वृद्धि माग गर्दै अस्पतालको ओपीडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका कर्मचारीहरू निरन्तर धर्ना, प्रदर्शन गर्दै आएका छन् । इमरजेन्सी बाहेकका सबै सेवा ठप्प पारेका आन्दोलनकारीका कारण एकातिर अस्पताललाई क्षति पुगेको र अर्कोतिर स्वास्थ्य सेवाको अपरिहार्य अधिकारबाट सर्वसाधारण वञ्चित हुनुपरेको तर्क अस्पताल व्यवस्थापनको छ ।
तलब, भत्ता, पदोन्नती, उपदान लगायतका विभिन्न सेवा, सुविधा वृद्धिका लागि आफुहरूले गरेको माग अनुसार व्यवस्थापनले सुनुवाई नगरेपछि आन्दोलन अपरिहार्य भएको आन्दोलनरत् कर्मचारी नेताहरूले बताउँदै आएका छन् । मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा झण्डै १ हजार ३ सय बढी कर्मचारी कार्यरत् छन् ।
तीन सातादेखि आन्दोलन चर्किरहँदा भएका पटकपटकका वार्ता सहमतिमा पुग्न नसकेपछि व्यवस्थापनले अदालत गुहार्नेदेखि शिक्षण अस्पताल नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसको बोर्ड लगाएको छ ।
व्यवस्थापनले समस्या समाधानमा गम्भीर हुनुको त्रसित गराउने काम गरेको भन्दै आन्दोलित कर्मचारीहरू झनै आक्रोशित भैरहेका छन् । दुवै पक्षको ध्यान आज अदालतबाट हुने निर्णयमा केन्द्रित रहेको देखिन्छ ।