वडाले गर्यो मजदुर बीमा

नेपालगन्जमा मजदुर बीमाको लोककल्याणकारी कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ ले पहिलो पटक मजदुर परिवारका लागि लोककल्याणकारी बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

अघिल्लो आर्थिक बर्षदेखि बीमा सुरु गरेको नेपालगन्ज वडा नं. १ ले यसबर्ष दाबी भुक्तानी कार्यान्वयनमा ल्याएको छ । वडाध्यक्ष प्रमोद रिजालले मजदुर हितका लागि बीमा देशमै सम्भवत आफ्नो वडाले कार्यान्वयनमा ल्याएको बताए ।

लघु जीवन बीमा गरेका दुई जना मजदुरको परिवारलाई बीमितको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ ले लघु जीवन बीमा गरेर मृत्यु भएका मुन्नी पासी र हनुमान बर्माको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको हो ।

नगर प्रमुख प्रशान्त विष्टले मुन्नी पासीका दाई बुधराम पासी र हनुमान बर्माकी छोरी निकिता बर्मालाई जनही १ लाख २५ हजार रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । वडा नम्बर १ ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरेर वडाका ३११ मजदुरको १ लाख ५७ हजारको बीमा गरिदिएको छ । यसमा प्रति व्यक्ति औसतमा ५०० रूपैयाँ पर्दछ ।

वडा अध्यक्ष प्रमोद रिजालका अनुसार अति विपन्न मजदुर बर्गलाई आर्थिक सुरक्षाको आधार निर्माण गरिदिने उद्देश्यले बीमा गरेको बताए । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रबन्धक कैलाश देवकोटाले अति विपन्न र सीमान्तकृत बर्गलाई बिमामा जोड्न आवश्यक रहेको बताउँदै यसबारे सचेतना जागृत गर्नुपर्ने बताए ।

वडा अध्यक्ष रिजालका अनुसार वडा नम्बर १ कै भीम गुरुङले पनि दुर्घटना बीमा अन्तर्गत १० हजार उपचार खर्च पाएका थिए ।

नेपालगन्ज उपमहानगरपालिका र अन्य विभिन्न वडाहरूले पनि लघु जीवन बीमा गर्ने तयारी गरेको प्रबन्धक देवकोटाले जानकारी दिए ।

Exit mobile version