तीन दिनदेखिको नेपालगन्ज साइकल फेष्टिबल शनिबार सकिएको छ । नेपालगन्ज साइक्लिङ्ग क्लबले किड्स रेसदेखि टुर दि ठाकुरद्वारासम्म आयोजना गर्ने गरी सञ्चालन गर्ने सञ्चालन गरेको फेष्टिबल शनिबार औपचारिक कार्यक्रम सहित सकिएको हो ।
समापन कार्यक्रममा क्लब अध्यक्ष प्रदिप सापकोटाले टुर दि ठाकुरद्वारालाई अभिभावकको खाँचो भएको भन्दै त्यसको स्वामित्व लिन बर्दियाका पालिकाहरूसँग आव्हान गरे ।
‘प्रदेश सरकारले पनि यसलाई साझेदारी गरिदिनुपर्छ’, क्लब अध्यक्ष सापकोटाले टुर दि ठाकुरद्वाराको सातौं संस्करण सहित नेपालगन्ज फेष्टिबलको समापन गर्दै भने, ‘नेपालगन्ज उपमहानगरपालिकाले जसरी अभिभावकीय भूमिका निर्वाह गरेको बर्दियाले पनि त्यसरी सोच्नुपर्छ ।’
सापकोटाले आव्हान गरिरहँदा कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गरिरहेका ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना भट्टराई, स्थानीय वडाध्यक्ष लगायतका बर्दिया ठाकुरद्वाराका पर्यटन व्यवसायीहरू चासोपूर्वक उनका कुरा सुनिरहेका थिए ।
पर्यापर्यटन प्रवद्र्धनसँगै साइकल गतिविधिलाई बढावा दिन नेपालगन्ज साइक्लिङ्ग क्लबले पछिल्लो सात बर्षदेखि यसखालको अभियान सञ्चालन गर्दै आएको छ ।
शुक्रबार नेपालगन्जबाट २ सय ५० बढी साइकल यात्री ठाकुरद्वारा पुगेका थिए । त्यसक्रममा उत्कृष्ट दाङ्गका साइकल यात्री भरत कार्कीलाई बिबि साइकलले साइकल उपहार प्रदान गरेको थियो । त्यस्तै, हरि देवकोटा र रमेश थापाले पनि पुरस्कृत हुने अवसर पाए ।