भावुक याेगी
डिभिजन वन कार्यालय बर्दिया अन्तर्गत पर्ने ठाकुरबाबा नगरपालिका ३, मिर्चैया गाउँको झरसलुवा सामुदायिक वनमा एउटा जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।
झरसलसवा सामुदायिक वनका वन हेरालुले वनभित्र गन्हाएकाे थाहा पाएपछि जनप्रतिनिधिसहित स्थानीयकाे टाेली हेर्न जाँदा जंगली हात्ती मृत अवस्थामा फेला परेको वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले जानकारी दिनुभयो ।
मृत अवस्थामा फेला परेको जंगली हात्ती केही दिन अघि मरेको हुनसक्छ, सड्न थालिसकेको छ, गन्नाएर नजिक जानै नसकिने अवस्था छ, खाता समन्वय समितिका अध्यक्ष हरि गुरुङले भन्नुभयो ।
डिभिजन वन कार्यालय र बर्दिया निकुञ्ज कार्यालयमा जानकारी गराइएको छ, केहिबेरमा टाेली आउने बताएका गुरुङले जानकारी दिनुभयो ।
सामुदायिक वन भित्र जंगली हात्ती मृत अवस्थामा फेला परेको भन्ने जानकारी आएकाे छ, टाेलि हिँडिसकेकाे छ, बर्दिया निकुञ्जका वरिष्ठ प्मुख संरक्षण अधिकृत डा. अशाेक रामले भन्नुभयाे ।
डिभिजन वन कार्यालय, बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र सुरक्षाकर्मी टोली हात्ती मरेको ठाउँमा पुगेर पाेष्टमार्टम गरेपछि मात्रै कसरी मृत्यु भएको भन्ने विषयमा थाहा हुने उहाँले बताउनुभयो ।
अन्दाजी ३५ वर्षकाे जंगली भाले हात्तीकाे एउटा दाह्रा पहिले नै काटिएको छ । याे हात्तीले धेरै वर्ष अघिदेखि हात्तीकाे समुहमा नबसि एक्लै हिँड्ने र निकुञ्ज आसपासका गाउँमा एक्लै गएर घरगाेठ भत्काउने र अन्नबालीमा क्षति गर्दै आएको थियाे । आतंक मच्चाउन थालेपछि केहि वर्ष अघि डार्ट गरेर हात्तीको एउटा दाह्रा काटिएको हाे ।
विगत केही वर्षदेखि जंगली हात्तीले गाउँमा गएर अन्नबालीमा क्षति तथा घरगोठ भत्काउन थालेपछि मध्यवर्ती क्षेत्रका स्थानीयवासी आतङ्कित भएका थिए ।
यसअघि फागुन ३ गते पनि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका ४ खैलार गाउँमा जंगली हात्ती मृत अवस्थामा फेला परेको थियाे ।