बाँकेमा रहेका पर्यटकीय क्षेत्र, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माण तथा पर्यटकीय क्षेत्र प्रवद्र्धनका विषयमा कोहलपुरमा शनिबार छलफल, बहश गरिएको छ ।
बाँकेमा रहेका पर्यटकीय क्षेत्रको प्याकेजिङ्ग सहित प्रवद्र्धनको जोड दिइएको कार्यक्रममा त्यसका चुनौति, पर्यटन प्रवद्र्धनका नाममा भैरहेको टुक्रे योजनाको आलोचना, तीन तहकै सरकार तथा सरोकारवालाको दायित्वबारे छलफल गरिएको थियो ।
बाँकेका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह गरिएको कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विरेन्द्र प्रसाद कंडेलले पर्यटन प्रवद्र्धनका लागि प्रचुर सम्भावना र अवसर भएको उल्लेख गर्दै जंगल वाक, चुरै हाइकिङ, ¥याफटीङ, हात्ती सफारी पर्यटनका लागि निकुञ्जको सौन्दर्य भएको बताएका थिए । उनले जिल्लामा सांस्कृतिक तथा धार्मिक पर्यटन र कृषि पर्यटन समेत रहेको औल्याउदै उत्त।ी भेगमा रहेका बासिन्दालाई कृषिमा अग्रसर गराई पर्यापर्यटनमा जोड दिन सकिने बताए ।
प्रमुख संरक्षण अधिकृत कंडेलले पर्यटकलाई जंगलमा घुमाउनका लागि जङ्गल सफारीका लागि जीपमा लगानी गर्न पर्यटन उद्यमीलाई अनुरोध गर्दै चुरे क्षेत्र सुख्खा भएकाले निकुञ्जमा रहेका ८० पोखरीमध्ये १६ पोखरीमा मात्र पानी रहेको जानकारी दिए । निकुञ्ज आसपास क्षेत्रमा स्तरिय होटेल तथा बासस्थान नहुँदा आन्तरिक तथा बाह्य पर्यटक नेपालगन्ज र कोहलपुर क्षेत्रमा आउन बाध्य छन् ।
महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक हरी सुवेदीले पर्यटकीय सम्भावना बोध गराउने क्रियाकलाप आवश्यक भएकोमा जोड दिदै केही पर्यटन पूर्वाधार भएपनि पर्याप्त नभएको बताए । बाँकेमा प्राकृतिक तथा शान्त वातावरणमा रमाउन चाहने पर्यटकलाई वनका पार्कहरू समेत रहेको औल्याउदै केही पर्यटकीय गन्तव्यको पहिचान भई तिनको विकासका लागि काम भएको बताए ।
पर्यटन यूवा व्यवसायी अशोक गौडेलले स्थानीय पर्यटन प्रवद्र्धन गर्न अतिरिक्त पर्यटनलाई वढवा दिन आग्रह गर्दै त्यसका लागि गन्तव्य निश्चित हुनुपर्ने बताए ।
नेपालगन्ज साइकिलिङ क्लबका पूर्व अध्यक्ष शतिष निरौलाले पर्यटनका हिसाबले बाँके कमजोर भएको उल्लेख गर्दै गाभर भ्यालीमा चुरे क्षेत्रको पदयात्रा पनि पर्यटकीय आर्कषण हुन सक्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बाँकेको पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रका धार्मिकस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गर्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । उनले भने, ‘यहाँ पर्यटनका माध्यमबाट विकास गर्न सकिने धेरै सम्भावनाहरू छन् । पर्यटकीय गतिविधि सञ्चालन गरी स्थानीय पर्यटन उद्यमीका लागि अवसर सिर्जना गर्ने उद्देश्यले प्रदेश परिषद् ‘टुर प्याकेज’ का कार्यक्रम बनाउने योजनामा छ ।’
आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने उद्देश्यले परिषद्ले बनाउने योजनामा अन्तरप्रदेश समन्वय र सहकार्यलाई जोड दिइने कार्यकारी निर्देशक जोशीले उल्लेख गर्नुभयो । उहाँले पर्यटन व्यवसायका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राज्यले विशेष संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्रतिनिधिसभाका सांसद सूर्य ढकालले बाँके पर्यटकीय रूपमा प्रशस्त सम्भावना बोकेको जिल्ला रहेको बताउँदै तीनै तहका सरकारले आपसी समन्वय गरी विशेष योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
इन्रुडेकको आयोजना भएको कार्यक्रममा प्रतिनिधिसभाका सांसद सुर्य ढकाल, लुम्विनी प्रदेशसभाका सदस्यहरू बसन्ती अधिकारी, कृष्णा केसी, वातावरण ग्रामिण विकास केन्द्र, इन्रुडेक बाँकेका अध्यक्ष धर्म रोकाया लगायतले पर्यटन क्षेत्रको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताएका थिए ।