सुर्खेतबाटै कर्णालीका जिल्लामा उडान भर्ने तयारी

नेपालगन्ज । नेपाल वायुसेवा निगमले सुर्खेतबाट कर्णाली प्रदेशका विभिन्न जिल्लामा उडान भर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेको छ । छलफलका क्रममा उपप्रधान तथा रक्षामन्त्री खड्काले निगमको व्यापार विस्तार तथा निगमको उन्नति गर्ने विषयमा सकारात्मक रहेको बताए ।

उडान, व्यापार तथा ऋण व्यवस्थापन जस्ता निगमको दीर्घकालीन व्यवस्थापकीय योजनाका सम्बन्धमा आवश्यक सहजीकरण तथा सहयोग गर्ने उनले प्रतिबद्धतासमेत जनाए । त्यसैगरी दुर्गम तथा पहाडी भेगका जनता जुम्ला, हुम्ला, मुगु र डोल्पाबाट सुर्खेत आवतजावत गर्न सानो जहाज आवश्यक रहेको तथा कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लावासीहरुका लागि नियमित उडान तथा भैपरी आउने आपतकालीन उद्दार सेवा प्रदान गर्न पनि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम भएकाले सुर्खेत विमानस्थलमा यथाशीघ्र उडान सञ्चालन गरिनुपर्ने, निगमले जहाजको अधिकतम उपयोगिता तथा पूर्ण क्षमतामा उडान गर्ने साथै प्रशासनिक सुधार सम्बन्धमा रणनीतिक कार्ययोजना बनाई यथाशिघ्र लागु गर्नुपर्ने सुझाव पनि दिए । निगमका कार्यकारी अध्यक्ष अधिकारीले निगमले कर्णाली प्रदेशको सुर्खेतमा अल्पकालीन तथा दीर्घकालीनरुपमा नियमित उडान सञ्चालन गर्ने अध्ययन समिति बनाई कार्य अगाडि बढाएको जनाए ।

Exit mobile version